मेचीनगर, मंसिर ८ । झापाको मेचीनगर–११ स्थित लाल भागिरथा बानियाँ प्रतिष्ठानले झापामा हुर्किएका तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ ।


प्रतिष्ठानले शुक्रबार प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी पुरस्कृत हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेको छ ।
लाल भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कारबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताए ।पुरस्कारको राशि ३१ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

यसैगरी, लाल भागिरथा उत्कृष्ट कृषि पुरस्कारबाट मेचीनगर–५ सुरेन्द्रनगरका किसान बद्रीकुमार राउत सम्मानित हुने भएका छन् । लाल भागिरथा उत्कृष्ट गृहिणी पुरस्कारबाट विर्तामोड–४ की हिमा लुइँटेल पाठकलाई सम्मानित गरिने भएको छ । सबै पुरस्कारको नगद राशि जनही ३१ हजार रहेको छ ।

प्रतिष्ठानले हरेक वर्ष समाजसेवा, कृषि र महिलाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई पुरस्कार दिँदै आएको छ । यसवर्ष एक जोडी ज्येष्ठ नागरिकलाई समेत सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।
पत्रकार सम्मेलनको अध्यक्षता गरेका अध्यक्ष बानियाँले यही मंसिर २० गते धाइजनमा एक समारोहबीच पुरस्कार वितरण गरिने जानकारी दिए ।

सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पुरस्कार वितरण कार्यक्रममा अतिथिको रुपमा निम्तो दिइएको उनले बताए ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँ, सचिव डम्बर देउजा, सदस्यद्वय भाष्कर घिमिरे र मोहन काजी न्यौपानेको उपस्थिति रहेको थियो । सो अवसरमा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्