झापा, मंसिर १० । पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो ।आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोख्रेलले केन्द्रले आयोगलाई विवरण बुझाएपछि विज्ञापन खोल्ने जानकारी दिए । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले केन्द्रको नियमित प्रक्रियाअन्तर्गत देशैभरका जिल्ला शिक्षा समन्वय इकाईले उपलब्ध गराएको विवरणअनुसार केन्द्रले रिक्त शिक्षकको तथ्याङ्क सार्वजनिक गरेको बताए । उनले रिक्त रहेको शिक्षक विवरण सच्याउन एक साताको म्याद दिएको जानकारी दिँदै भने- ‘एक सातापछि अन्तिम विवरण आयोगमा बुझाउनेछौं । आयोगले सोही विवरणको आधारमा रिक्त दरबन्दीको लागि विज्ञापन खुला गर्नेछ ।’ केन्द्रले तयार गरेको विवरणमा काठमाडौँ, सप्तरी, महोत्तरी, कपिलवस्तु र हुम्लाको विवरण यकिन भएको छैन । केन्द्रले विवरण नदिएका यस्ता जिल्लाका हकमा एक साताको म्याद दिएर तथ्याङ्क पठाउन निर्देशन दिएको छ ।