झापा, मंसिर १० । सहकारी अभियानको नेतृत्व गर्न चाहनेहरुको आचरण र ब्यवहार सँगसँगै तिनको प्रारम्भिक संस्थाको मूल्यांकन गरेर मात्र उम्मेदवार बन्न पाउने गरी नेकपा एमालेले नीति कार्यान्वयनमा ल्याउने भएको छ ।

नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा सहकारी तथा गरिवी निवारण विभागका प्रमुख खगराज अधिकारीले आज झापाको दमकमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका अधिकारीले भने, ‘हिजो के भयो म त्यता जान्न तर अबदेखि सहकारी संघ–महासंघ, विषयगत संघहरु, सहकारी बैंक आदिको नेतृत्वमा जान चाहने एमालेजनहरु सहकारी अभियान बुझेको, नेतृत्व गर्न सक्ने क्षमता भएको तथा आर्थिकरुपमा क्लिन हुन जरुरी छ ।’

नेपाल सरकारकोे गृहमन्त्री, स्वास्थ्य मन्त्री र गण्डकी प्रदेशको मुख्यमन्त्री भइसकेका एमाले नेता अधिकारीले सहकारी अभियानकर्मीहरु माझ निर्देशनात्मक मन्तब्य राख्दै ‘पहिला आफू आवद्ध सहकारी संस्थालाई सदस्यको भरपर्दो, समृद्ध, रचनात्मक र नमूना बनाउनुस् अनि मात्र संघहरुको नेतृत्वमा जाने रुची राख्नुस्’ भनी सुझाव पनि दिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका अधिकारीले यस्ता निकायमा उम्मेदवार हुनका लागि माथिका क्राइटेरिया पूरा गरेका अभियानकर्मीहरुको नामहरु फ्याक्सनमा छलफल गरेरमात्र निष्कर्ष निकालिने भएकाले अहिलेदेखि आफू उम्मेदवार भएको प्रचार नगर्न पनि सुझाए ।

विभागीय प्रमुख नारायणप्रसाद भट्टराईको अध्यक्षतामा नेकपा एमाले झापा जिल्ला सहकारी तथा गरिवी निवारण विभागले आयोजना गरेको सो विशेष कार्यक्रममा झापाका अग्रज सहकारीकर्मीहरुको सहभागिता थियो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेले सञ्चालन गरेको सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष रमेशप्रसाद पोखरेल, नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौडेल र सञ्चालक घनश्याम अधिकारीले सहकारी महासंघ र नेफ्स्कुनको आसन्न निर्वाचनका विषयमा अवधारणा राखेका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय रोमनाथ ओली र गीता अधिकारी तथा झापा जिल्ला कमिटीका अध्यक्ष दिपक कार्कीले सहकारीको माध्यमबाटै समाजवादको यात्रा तय गर्न सकिने भएकाले अभियानकर्मीहरुले चनाखो भएर सहकारी हाँक्न सुझाव दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्