झापा, मंसिर ११ । नेपाली कांग्रेस झापाका पूर्व सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शमाको निधन भएको छ ।


बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा आज अपरान्ह ४.३० बजे शर्माको ८८ वर्षको उमेरमा निधन भएको हो ।
कमल गाउँपालिका ५ मंगलवारे निवासी शर्माको स्वास्थ्यमा समस्या देखिएपछि एक महिनाअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका शर्माको मुटुमा समस्या देखिएको र रगत कम भएको अवस्थामा उनको उपचार भइरहेको थियो ।
बीपी कोइरालाका अनुयायीका रुपमा रहेका शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलसम्म परेका थिए ।

२०४२ सालमा भएको सत्याग्रह आन्दोलनमा समेत उनले त्यागी र निष्ठावान नेताका रुपमा छवि बनाएका थिए । २०४२ सालमा नेपाली कांग्रेस झापाको सभापति बनेका शर्मा झापा क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचनमा उम्मेदवार भएका थिए । शर्माको भोलि बिहान ११ बजे कनकाई माईमा दाहसंस्कार गरिने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

पाँच वर्षअघि जीवनसंगिनी गुमाएका दिवंगत दाहालका तीन छोराहरु विनोद ,प्रमोद ,आमोद र एक छोरा प्रमिला छन् । उनको निधनप्रति विभिन्न नेता कार्यकर्ताहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्