झापा, मंसिर १३ । सुपारीमा भइरहेको चलखेललाई छताछुल्ल पार्दै त्यसलाई रोक्न सुपारी किसानहरुले संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।

नेपाली उत्पादनलाई प्राथमिकता नदिई पैसा कमाउन बाहिरबाट सुपारी आयात गरी त्यसैलाई निर्यात गर्न भइरहेको चलखेल र दौडधुपको किसानहरुले खुलेर विरोध जनाएका हुन् । सुपारीको निर्यात सम्बन्धी समस्याका बारेमा अध्ययन गर्न आएको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई सुपारीको आयात बन्द गर्न किसानहरुले आग्रह गरेका छन् । बिर्तामोडमा बुधवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले सुपारीको बेथितिका बारेमा सरोकारवालाहरुलाई गंभीर हुन आग्रह गरे । उनले सुपारीको समस्या समाधान गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि हल नभएको गुनासो गरे ।

नेपाल सुपारी खेती पहल समितिका अध्यक्ष गीता अधिकारीले नेपाली किसानले उत्पादन गरेको सुपारीको बजार सुनिश्चित नभएकाले किसानहरु साह्रै ठूलो समस्यामा रहेको सुनाए । सुपारी खेतीप्रति धेरै किसानहरु आत्मनिर्भर रहेकाले राज्यले सुपारीको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा उत्पादित सुपारीलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिँदै आवश्यकताका आधारमा मात्र आयात गरिनुपर्ने बताए ।

सुपारी जोनका संयोजक दीपक गौतमले सुपारीको बजार मूल्यको सुनिश्चितता नभएका कारण किसानहरुले सुपारी खेती फाड्नु पर्ने अबस्था आएको बताए । उनले सुपारीमा किसान र साना व्यवसायीभन्दा ठूला व्यवसायीहरुको बढी दौडधुप हुने गरेको यथार्थ सुनाए । सुपारीको चलखेलकै कारण झापाले बद्नामी कमाउनु परेको उनको भनाई छ ।

मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सुपारी आयात किन गर्नुपर्ने प्रश्न गर्दै नेपालमै उत्पादित सुपारी खपत हुन नसकेको अबस्थामा बाहिरबाट आयात गर्दा नै समस्या उत्पन्न भएको बताए । उनले सुपारी खेतीको तथ्यांक सही रुपमा निकाल्न नसकिएको दावी गरे । नगर प्रमुख बुढाथोकीले सुपारीका विषयमा किसानलाई बद्नाम नगरी प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले धान खेती मासेर सुपारी खेती गरेका किसानले सुपारी पनि मास्नुपर्ने अबस्था आएको बताए । उनले सुपारीमा भइरहेको अन्यायप्रति संसदीय समितिको ध्यानाकर्षण गराए । जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले चलखेलकै कारण किसानले मूल्य नपाएकाले त्यसलाई रोक्न आग्रह गरे । किसानहरुले ध्यानाकर्षण गराएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सुपारीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । उनले सुपारी र सुपारी खेतीका बारेमा स्थलगत अध्ययन गर्न पाएकाले किसानका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउने बताए ।

किसानका समस्याप्रति समितिका सदस्यहरु रणेन्द्र बराइली , रेखा यादव , रमा कोइराला पौडेल र सीता मिजारले पनि प्रतिबद्धता जनाएका थिए । नेपालमा १४ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ । त्यसमध्ये १० हजार ३०० मेट्रिक टन झापामै उत्पादन हुने गरेको तथ्यांक छ । त्यस्तै २७ हजार मेट्रिक टन सुपारी बाहिरबाट आयात हुने गरेको बताइन्छ । कोरोना कालमा रोकिएको सुपारीको आयात फेरि शुरु भएको किसानहरुको भनाइ छ ।राजधानीबाट आएको संसदीय समितिको टोलीले मंगलवार सुपारी खेतीको अनुगमन गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्