बिर्तामोड, मंसिर १६ । बिर्तामोडमा फोहोरमैला सबैभन्दा ठूलो समस्या बनिरहेका बेला मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि जडान गरेको छ ।

अस्पतालले उक्त फोहोर जलाउने मेसिन (इन्सिनरेटर) शनिबारबाट प्रयोगमा ल्याएको हो । भारतको सोलिडटेक वेस्ट एण्ड डिस्पोजल प्रालिद्वारा निर्मित उक्त इन्सिनरेटर वातावरणमैत्री रहेको बताइएको छ । उक्त मेसिनमा फोहोर जलाउन इन्धन वा विद्युतको आवश्यकता पर्दैन । इन्सिनरेटरमा धातुजन्य र सिसा बाहेकका फोहोर जलाउन मिल्ने अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष रविन कोइरालाले जानकारी दिए । इन्सिनरेटरमा फोहोर राखेर आगो सल्काएमात्र पुग्ने हुँदा शुन्य लागतमा फोहोर जलाउन सकिने अस्पताल व्यवस्थापन समितिका सचिव रोमणी भट्टराईले जानकारी दिए । यो प्रविधि सफल भए अस्पताललाई चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापन सहज हुने उनले बताए ।

अस्पतालले जडान गरेको उक्त इन्सिनरेटरमा एक पटकमा एक सय किलो फोहोर हाल्न सकिने र उक्त फोहोर जल्न एक घण्टा लाग्ने भट्टराईले जानकारी दिए । अस्पतालले उक्त इन्सिनरेटर बिर्तामोड–२ स्थित शहिद स्मृति प्रतिष्ठान क्षेत्रमा जडान गरेको छ । मनमोहन अस्पतालमा हप्ताको दुई ट्रयाक्टर फोहोर उत्पादन हुने अस्पताल व्यवस्थापन समितिका सदस्य बुद्धि भट्टराईले जानकारी दिए । यसअघि सो अस्पतालले फोहोर जमिनमुनि गाड्दै आएको थियो । मनमोहनले जडान गरेको प्रविधिले पालिकाहरुलाई फोहोर व्यवस्थापनमा पाठ सिकाएको बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले बताइन् ।

सोलिडटेकका सञ्चालक पप्पु सरकारले इन्सिनरेटरबाट उत्सर्जन हुने धुँवामा कार्बन मोनोअक्साइड ०.२ प्रतिशत र कार्बनडाइअक्साइड ०.४ प्रतिशतमात्र हुने भएकाले वायु प्रदूषण कम हुने बताए । इन्सिनरेटरमा पानीको प्रयोग हुने र त्यहाँ जडित प्रविधिले पानीको सहारामा प्रदूषित धुँवालाई छानेर फोहोर पानीसँगै बाहिर पठाउने सरदारले जानकारी दिए । एक बर्षसम्म मेसिनको ग्यारेण्टी हुने र तीन बर्षसम्म कुनै सर्भिसिङ गर्नु नपर्ने उनले बताए । तीन बर्षपछि सामान्य सर्भिसिङ गर्दा हुने र त्यसका लागि एक डेढ लाख खर्च हुने उनको भनाई छ । मनमोहन अस्पतालमा जडान गरिएको क्षमताको इन्सिनरेटर करिब २० लाख मुल्य पर्ने कम्पनीले जनाएको छ ।

कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, गौरादह नगर प्रमुख छत्रपति सुवेदी, अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डे , ३ का वडाध्यक्ष मदन बुढाथोकी ,५ का वडाध्यक्ष रोहित प्रसाई , ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल , गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारी , अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनाम, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु उपस्थित थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्