भद्रपुर, मंसिर १६ । झापाको भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।


आजको खेलमा कचनकवल गाउँपालिकालाई हराउँदै मेचीनगर स्पष्ट ९ अंकका साथ समूह ग को विजेता बनेको हो । मेचीनगरसँग ३–० गोल अन्तरले हारेको कचनकवल लिग चरणबाटै बाहिरिएको छ ।

लिग चरणका सबै तीन खेल जित्ने मेचीनगर एक मात्र टोली बनेको छ । खेलको छैटौँ र १६ औँ मिनेटमा मेचीनगरका निरज कार्कीले गोल गरेका थिए । त्यस्तै, ६१ औँ मिनेटमा सन्देश खवासले एक गोल गरे । प्लेयर अफ दि म्याच भएका कार्कीले नगद दुई हजार र ट्रफी पाए ।

यसैबीच, आज भएको दोस्रो तथा समूह ग को लिग चरणको अन्तिम खेलमा भद्रपुर नगरपालिका विजयी भयो । जितसँगै समूह उपविजेता हुँदै भद्रपुर पनि नकआउट चरणमा प्रवेश गरेको छ ।
बाह्रदशी गाउँपालिकासँग बराबरी मात्रै खेले पनि भद्रपुर नकआउट चरणमा प्रवेश गर्ने अंक गणितीय अवस्थामा थियो । हारसँगै बाह्रदशी लिग चरणबाट घर फर्किएको छ ।

भद्रपुरले बाह्रदशीलाई २–० गोल अन्तरले हराएको हो । खेलको ३२ औँ मिनेटमा भद्रपुरका उदेश कामतीले गोल गरे । त्यस्तै, खेलको ५६ औँ मिनेटमा निवाङ लिम्बूले गोल गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच भएका भद्रपुरका कामतीले नगद दुई हजार र ट्रफी पाए । आजको दुवै खेलको प्लेयर अफ द म्याचको पुरस्कार गोल्डकपका अध्यक्ष दिपेश ढकाल, कोशी प्रदेशसभा सदस्य मोहन महर्जन, प्रदेशसभाका पूर्वसदस्य बसन्त बानियाँ, सौजन्यकर्ता प्रमिला ओझा, किरण शर्माले प्रदान गरेका थिए ।

फुटबलको उर्वरभूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्