झापा , मंसिर १८ । स्टार्ट बन्द भएको बोलेरो जीपलाई स्टार्ट गर्न साथीहरुले पछाडिबाट ठेलेपछि दुर्घटना भएर ताप्लेजुङमा जीप चालकको मृत्यु भएको छ ।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा गएराति जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा प्रदेश १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालक निशान लिम्बूको मृत्यु भएको हो। याम्फुदिनको भोटेगाउँबाट छेबुकतर्फ जाँदै गरेको जिप बिग्रिएपछि स्टार्ट गर्न साथीहरुले पछाडिबाट ठेल्दा अनियन्त्रित भएर भित्तामा ठोक्किएर पल्टिएको थियो । सोही जीपले थिचिएर चालक लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल लुंगेलीले बताए ।

राति करिब ९ बजेतिर भएको जीप दुर्घटनामा सोही गाउँपालिका–५ पेदाङ घर भई हाल फुङ्लिङ नगरपालिका–५ बस्दै आएका चालक ३० वर्षीय लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्