बिर्तामोड,मंसिर १८ । मिलनसार बचत तथा ऋण सहकारी संस्थाको १४औँ बार्षिक साधारणसभा तथा ५औँ अधिवेशन सम्पन्न भएको छ ।

लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गर्दै सोमबार साधारणसभा सम्पन्न भएको हो ।
चारबर्षे कार्यकालका लागि बास्कोटा अध्यक्षमा पुनः चयन भएका हुन् । साकोसको उपाध्यक्षमा अजय देव, सचिवमा कैलाश पोखरेल, सहसचिवमा टिका खनाल र कोषाध्यक्षमा पुण्यप्रसाद रिजाल चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा मिरा पाण्डे उप्रेती, मानकुमार श्रेष्ठ, दिनेश भट्टराई, रिता कोइराला, ज्ञाननाथ सिटौला र पुष्प खड्का चयन भएको बिर्तामोड नगरपालिका सहकारी शाखा प्रमुखसमेत रहेका निर्वाचन अधिकृत डिल्ली दाहालले जानकारी दिए । दाहालका अनुसार लेखा सुपरीवेक्षण समिति संयोजकमा चन्द्र बास्कोटा, रोजन तिम्सिना र सुशिलकुमार अग्रवाल चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले केहि सहकारीका सञ्चालकको गलत गतिविधिका कारण सहकारी अभियानमाथि नै प्रश्न खडा भएको बताए । सरकारको तीन खम्बे अर्थनीति भित्रको सहकारीहरुका कारण बैंक पुग्न नसकेको ग्रामीण क्षेत्रमा समेत वित्तीय गतिविधि भइरहेको बताए । पछिल्लो समय सहकारीहरुले अन्तर्राष्ट्रिय स्तरको गोष्ठी आयोजना गरेर अनुभव हासिल गरिरहेको भन्दै खुसी व्यक्त गरे । उनले केहि व्यक्तिहरु आफूले लिएको ऋण तिर्नुपर्दैन भन्दै व्यवस्था विरुद्धको अभियानमा लागेको बताए । सभामुख घिमिरेले आउँदो हिउँदे अधिवेशनमा सहकारीका समस्या समाधान गर्ने गरी सहकारीमैत्री ऐन सदनमा आउने विश्वास व्यक्त गरे ।

बिर्तामोड नगरपालिका सहकारी प्रमुख दाहालले बिर्तामोड क्षेत्रका राम्रा सहकारीहरुमा मिलनसार साकोस पनि रहेको बताए । शेयर पूँजी, बचत, कर्जा लगानी, बाह्य ऋणआदिको तुलनात्मक अध्ययन गर्दा मिलनसारको अवस्था राम्रो भएको दाहालले बताए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ताको रुपमा नवराज कोईराला, सविता श्रेष्ठ र तारा घिमिरे साथै उत्कृष्ट ऋणीको रुपमा प्रेमप्रसाद मैनाली, मनमाया दमाई र एकराज खनाललाई जनही एक हजार पाँचसय नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै अघिल्लो समितिमा रहेर काम गरेका निवर्तमान सचिव दिनोज बजगाई, सदस्यहरु युवराज भट्टराई र शारदा पाण्डेलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

जामुनखाडी सिमसारमा भएको कार्यक्रमका अतिथिहरु सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, नयाँ उज्यालो साकोसकी अध्यक्ष सुष्मा भण्डारी पौडेल, बुद्धनगर साकोसकी उपाध्यक्ष भिमकुमारी विष्ट र स्वरोजगार भवानी साकोसका अध्यक्ष केशव बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।२०६६ सालमा ४१ जना शेयर सदस्यहरुबाट ४ लाख १० हजार शेयर पूँजी संकलन गरेर शुरु भएको मिलनसार साकोसमा हाल २ करोड ४१ लाख ७९ हजार ९ सय रुपैँया शेयर पूँजी रहेको अध्यक्षले पेश गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाको मेरुदण्डको रुपमा रहेको जगेडा कोषमा ५३ लाख ८६ हजार ५४३ रुपैँया रहेको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल विशिष्ठ अतिथिको रुपमा रहेका थिए । कार्यक्रमको खुल्लासत्र निवर्तमान सचिव दिनोज बजगाईले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्