झापा, मंसिर १९। स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइदै छ ।

उनी नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। उनको जन्म काठमाडौंको किलागलमा १९९६ असोज १८ गते भएको थियो। २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर उनले स्वर परीक्षा पास गरेका थिए। ३० वर्ष लामो गायनयात्रामा उनले १३७ वटा गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँछन्। आधुनिक गीतका साथै उनले केही चलचित्रमा समेत गाएका छन्। साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए।

दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायण गोपालको समूह बनेको थियो। थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए। योञ्जन र नारायण गोपालले दार्जिलिङमै मित लगाएका थिए।
नारायण गोपालले ‘दुईटा फूल देउरालीमा’ ‘एउटा मान्छेको मायाले कति’, ‘पोखिएर घामको झुल्का’, ‘पर्खी बसेँ आउला भनी’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मेरो बेहोसी आज’, ‘मेरो आँखालाई राख्ने’, ‘श्रद्धाको फूल चढाइदिनु, ‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’ लगायतका गीत गाएका छन्।

भक्तराज आचार्य, फत्तेमान, अरुणा लामालगायतलाई समेत आफ्नो संगीतमा गाउन लगाएका उनको संगीतमा रामकृष्ण ढकालले गाएको ‘माया गर्नेको चोखो माया पनि देखियो’ चर्चित रह्यो। यो गीत सुरुमा नारायणगोपाल आफैँले गाए पनि रेकर्डिङ गर्न नपाउँदा उनको निधनपछि ढकालले स्वर दिए। यसलाई लोचन भट्टराईले समेत गाएकी छिन्।

नारायण गोपालको निधन २०४७ मंसिर १९ गते भयो। गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलगायत प्रतिष्ठित पुरस्कार पाएका उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरिएको थियो।
दार्जिलिङकी पेमला लामासँग विवाह गरेका नारायण गोपाल निःसन्तान रहे। पेमलाको पनि निधन भइसकेको छ।

यसैबीच नारायण गोपालको ३३औँ स्मृति दिवसमा नारायण गोपाल स्मृति प्रतिष्ठान बिर्तामोड ३ ले आज साँझ बिर्तामोडमा कार्यक्रम गर्ने भएको छ । बिर्तामोड ४ स्थित बिर्ता पार्टी प्यालेसमा साँझ ५.३० बजेदेखि राति ९ बजेसम्म सांगीतिक कार्यक्रम संचालन हुने प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीले बताए । वरिष्ठ संगीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा चर्चित गायक विष्णु अधिकारीको साथमा स्थानीय कलाकारहरुले गीत प्रस्तुत गर्ने अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्