भद्रपुर, मंसिर १९ । बबिन बोहोराको ४ गोलको मद्दतमा बुद्धशान्ति गाउँपालिका प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वार्टर फाइनल खेलमा बुद्धशान्तिले शिवसताक्षीमाथि शानदार जित दर्ता गरेको हो । खेलको अधिकांश समय बुद्धशान्तिले शिवसताक्षीलाई दबाबमा राखेको थियो । शिवसताक्षीलाई ४–० गोल अन्तरले हराउँदा जारी प्रतियोगितामा बुद्धशान्तिका बोहोराको व्यक्तिगत ८ गोल भएको छ ।

खेलको ११ औँ, ४१ औँ, ६६ औँ र ७९ औँ मिनेटमा बबिनले बुद्धशान्तिका लागि गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच भएका उनले नगद दुई हजार र ट्रफी पाए ।

उनलाई गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठ, शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै, आजको दोस्रो क्वार्टर फाइनल खेलमा झापा गाउँपालिका विजयी भएको छ । झापाले भद्रपुर नगरपालिकालाई १–० गोल अन्तरले हराएको हो । खेल अवधिभर दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भएपनि खेलको ७१ औँ मिनेटमा झापा गाउँपालिकाका किरण उराउले गरेको गोल नै निर्णायक बन्यो ।
खेलको प्लेयर अफ दि म्याच झापा गाउँपालिकाका उमेश मुर्मू भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उद्योगी होम पाण्डेले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

जितसँगै झापाले फाइनल प्रवेशका लागि बुद्धशान्तिको सामना गर्नेछ । खेल मंसिर २२ गते हुनेछ ।
खेलतालिका अनुसार तेस्रो क्वार्टर फाइनल खेल भोलि मंसिर २० गते अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाबीच हुनेछ भने अन्तिम क्वार्टर फाइनल खेल मेचीनगर नगरपालिका र गौरादह नगरपालिकाबीच हुने अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

फुटबलको उर्वरभूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्