रमेश नेपाल,
हिन्दु धर्मावलम्वीहरुको प्रमुख चाडपर्वमध्ये बाला चतुर्दशी पनि एक हो । प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका तिथिमा यो पर्व मनाईन्छ । यस वर्षको पर्व मंसिर २५गते सोमबारको दिन परेको छ । यसरी बाला चतुर्दशीका दिनमा शतबिज छर्नु यो पर्वको मौलिक स्वरुप पनि हो । नेपालका शिव मन्दिर रहेका क्षेत्रमा शतबिज छर्नेहरुको ज्यादै घुइँचो लाग्ने गर्दछ । यसर्थ पशुपतिनाथ लगायत देशभरिका शिव मन्दिरमा त यस दिन खुट्टा राख्न पनि मुश्किल हुने गरी भीड लाग्छ । यसै क्षेत्रमा रहेको मृगस्थली बनमा हजारौं मानिसहरुले शतबिज रोपण गर्ने गरेका छन् । हाम्रो संस्कृति गाथामा एउटा भनाई छ “स्वधर्मे निधनं श्रेय ः परधर्मो भयावह । ” यसैले न हो वास्तविक विश्व विजेताहरु साम्राज्य बिजय हेरी साँस्कृतिक विजयलाई बढ्ता महत्व दिइन्छ । तसर्थ नेपाली समाजमा वर्षभरिमा विभिन्न चाडपर्वहरु मनाइन्छन् । अतः धर्म र संस्कृतिको बाहुल्यता रहेको हाम्रो समाजमा, धार्मिक आस्था अनुसार मनाइने यस्ता चाडपर्वमा बाला चतुर्दशीको पनि आफ्नौ किसिमको महत्व बोकेको छ ।

बाला चतुर्दशीको पशुपतिनाथसँग रहेको कुरालाई हिमवत्खण्ड, नेपाल माहात्म्य तथा शिवपुराणहरुले वर्णन गरेका छन् । हिमवत्खण्डको बयालीस अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा के बताइएको छ भने मृगरुप लिएर भगवान् शिवले जहाँजहाँ घुम्नुभयो, खानुभयो, सुत्नुभयो, हिंड्नुभयो, बिहार गर्नुभयो त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबिज) छर्दा प्राणी मात्रको जीवनयापनको लागि चाहिने अन्य दान गर्ने मानव जातिले छरेको एक गेडा अन्न बराबर एक तोला सुनदान गरेको पुण्य मिल्ने धार्मिक विश्वास रहँदै आएको छ । शतबिज त्यस वर्ष दिवंगत भएका आफन्तको चीर शान्ति, मंगल र पुण्यको कामना गरी बन क्षेत्रमा छर्ने चलन छ । यो लगातार तीन वर्षसम्म छर्ने र तीन वर्षमा चर्तुष्ठी गरी होम गर्ने चलन नेपाली समाजमा अद्यावधिक रहँदै आएको छ ।

शतबिज छर्ने पर्वको परम्परा कहिलेबाट बस्यो भन्ने जनश्रुतिअनुसार कैलाशबाट भगवान् शिव श्लेष्मान्तक बनमा आई अत्यन्त आकर्षक मृगरुप धारण गरी बषौ वर्ष बितेको पत्तै भएन । माता पार्वतीलगायत समस्त देवीदेवताहरुलाई ज्यादै पिर पार्यो । भोलेबाबा कहाँ हुनुहुन्छ भनी दिव्य दृष्टिले हेर्दा त भगवान् मृगरुप धारण गरी पशुपति क्षेत्रमा बन विहार गरी रहनुभएको देवी पार्वतीले थाहा पाउनुभयो । शिवरुपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले थाहा पाउनुभयो , शिवरुपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले विभिन्न किसिमको वीज छर्नुभयो । केही हप्तापछि छरिएका बीउहरु उम्रिएर हरियो घाँस भएपछि घाँस देखेर मृगहरु लोभिएर आउन थाले । आएका मृगमध्ये मृगरुपी भोलेबाबालाई चिन्न माता पार्वतीलाई सजिलो भयो । यसरी देवी पार्वतीद्वारा सुरुवात भएको सद्वीज छर्ने प्रथा कालान्तरमा जीवन संस्कृति बन्यो र युग युगसम्म कायम भइराखेको छ, रहिरहने छ ।

प्रत्येक वर्ष शतबिज भन्नाले सय किसिमका चिजका गेडागुडीहरु भन्ने बुझिन्छ । यी शतबिजमा प्रयोग गरिने अन्नहरुमा गहुँ, सरस्यू, मकै, जौ, धान, बयर, अमला र अन्य फलफूल तथा कन्दमूलका टुक्राहरु पर्दछन् । शतबिज छर्न नेपाल अधिराज्यका विभिन्न भागहरु लगायत मित्रराष्ट्र भारतबाट समेत अर्जुनधारा मन्दिरमा घुइँचो लाग्ने गर्दछ । त्रयोदशीका दिन महादीप बाली अर्जुनधारा धाम परिसर र वरपर बस्छन् र भोलिपल्ट बिहान सप्तधान्य छर्दै हिंड्छन् । यस दिन टाढा जान असमर्थ कतिपयले नजिकको तीर्थस्थल मन्दिर, देवालयमा गई शिव प्रार्थना गरी रातभर जाग्राम बस्ने प्रचलन पनि जनसमुदायमा बिद्यमान छ । शतबिज छरिसकेपछि खीर, फलाहार, दही, च्यूरा, पुलाउ इत्यादी मिष्ठान्न पदार्थ भोजन गरी खैजडी, मुजुरा, मादलका साथै शिवलीला, कृष्ण चरित्रसम्बन्धी भजन–कीर्तन गाइने परम्परा नेपाली समाजमा विद्यमान छ ।

यसरी हाम्रो समाजमा दुईथरी विश्वास बोकेका मानिसहरुको शतबिज छर्ने प्रचलन छ । एकथरी अधिल्ला वर्षहरुमा आफ्नो परिवारजनको स्वर्गारोहण हुनेले मात्र मृतात्माको स्मृतिमा शतबिज छदैं चीरशान्तिको कामना गर्ने र अर्काथरी पुण्य कमाउने आशा गर्दछन् । सार्वजनिक रुपले शतबिज छर्ने अधिल्लो दिन अर्थात मार्ग कृष्ण त्रयोदशीको दिन भगवान् पशुपतिनाथलाई किमति गरगहना पहिराइन्छ । सक्कली एकमुखे रुद्धाक्ष, नागमणि जस्ता बस्तुहरु ढुकुटीबाट झिकिन्छन् । त्यसरी झिकिएका बस्तुहरु मार्ग कृष्ण औंसीको दिन भण्डारमा पुनः राखिन्छन् । बालाचर्तुदशीको दिन मध्यरातमा अन्तिम शतबिज छरिन्छ । जसलाई “कएन्या” भनिन्छ । यो कार्य सम्पन्न भएपछि त्यस वर्षको शतबिज छर्ने कार्य समाप्त हुन्छ । बाला चतुर्दशीको दिनदेखि पशुपतिनाथलाई तर स्नान गराउँछ । यसको साथसाथै तातो पानीले स्नान गराइन्छ । फलतः चैत्र कृष्ण चतुर्दशीसम्म प्रतिदिन त्यसरी नै स्नान गराइन्छ ।

यस पर्वमा शतबिज छर्दा महत्व बुझनेहरु सबेरै अर्जुनधारा सप्तधारामा नुहाएर “ सुवर्णरत्तिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थली परिभ्रम्य पुनर्जन्म न विधते” भनी मन्त्र पढ्दै शतबिज छदर्छन् । यसर्थ हरेक साल शतबिज छर्नेहरुको घुइँचोसँगै जाडो भित्रिन्छ भन्ने पुरानै उखान हो । यसपटक पनि जाडो त अवश्य बढ्ला नै तर मुलुकको बर्तमान शान्तिको स्थितिको कारण गर्दा श्रद्धालुहरुको घुइँचो बिगतका वर्षहरुको तुलनामा बढ्ने अनुमान गरिएको छ । यस दिन बौद्ध धर्मावलम्वीहरु स्वयम्भूमा शतबिज छर्न धाउने गर्छन् । सो दिनमा देवताहरुको पनि जात्रा हुने भन्ने धार्मिक विश्वास उनीहरुको छ । देवताहरुको पनि देवता पूर्वको पशुपतिनाथ अर्जुनधाराको दर्शन गरिसकेपछि आसपासमा रहेका महत्वपूर्ण मन्दिरहरुमा पनि दर्शनार्थीको भीड लाग्ने गर्दछ । तसर्थ मार्ग कृष्ण त्रयोदशीको साँझदेखि अर्जुनधारा धामको सेरोफेरो मानिसको भीड लाग्न थाल्छ । पसलेहरु सकेसम्म राम्रो ठाउँ ओगटेर पाल हाली बजार बसाल्न थाल्छन् । अनि अरु भक्तालुहरु जहाँ जहाँ मिल्छ त्यही त्यही आफ्ना डफ्फाका साथ आसन बसाउँछन् । साँझ पर्दासम्ममा अर्जुनधारा धाम परिसरको चौरमा खुट्टो राख्न पनि मुश्किलले पाइने स्थिति हुन्छ ।

साँझ परेपछि धार्मिक अनुष्ठान शुरु हुन्छ । एकातिर परिवारका मूली वा जिम्मेवार व्यक्तिहरु अर्जुनधाराधामको मूल बत्तीबाट पितृका नाउँको दियो वा महादीप, जीवनदीप आदि जगाएर रातभर त्यसको संरक्षण गरेर बस्छन् भर्ने अर्कातिर मादल र बाँसुरीको तालमा नाँच्ने पनि हुन्छन् । अनि केही धार्मिक प्रवृत्तिका रसिक पाकाहरु पनि बैंसको स्मृतिमा भजन, चुड्का, कीर्तन आदि गरेर कठोर रातको पीडालाई केही मत्थर बनाउने प्रयत्न गर्छन् ।

समग्रमा भन्नुपर्दा अर्जुनधारा धामक्षेत्रमा त्रयोदशीको त्यो रात टाढाबाट असंख्य मौरीको भुनभुनले भरिएको रातझैं सुनिन्छ । कैलाशतिर हेर्दा त्यसको थाप्लो धपक्क बलेर त्यसको प्रकाशले चुक जस्तो गाढा अन्धकार आकाशलाई छेड्ने ठूलो प्रयत्न गरिरहेझैं देखिन्छ । अनि चतुर्दशीको दिन चाँहि बिहान सबेरै महादीप वा दीप लगेर भगवानको समिपमा सेलाइन्छ र मानिसहरु नुवाई धुवाई भोलेबाबाको पूजा गरी शतबिज छर्ने कार्य गर्दछन् । यसरी शतबिज छरी सम्पूर्ण अनुष्ठान गरिएको हुन्छ । त्रयोदशीका दिन राति अर्जुनधारा खासगरी मुख्य मन्दिर आसपासमा दीप महादीप बालिदिएमा जीवात्मा कुनै कारणवश शून्यमा मार्ग नपाई अन्धकारमा भट्किरहेका भए पनि त्यस दीपका प्रकाशले मार्ग पाई पितृलोकमा जान सक्छ र धाम क्षेत्रमा शतबिज छर्दा एक गेडा अन्न बराबर एक तोला सुन दानको पुण्य मृतकलाई मिल्छ भन्ने गहिरो जनविश्वास छ ।

यो पर्व नेपाली सँस्कृतिको एक महत्वपूर्ण अंग हो र हिन्दू धर्मावलम्बीहरुले यसलाई बडो हर्षोल्लासका साथ मनाइने गरेको पाइन्छ । धार्मिक आस्था तथा परम्पराको विश्वासको आधारमा नै शतबिज छर्ने कार्य गर्ने गरिन्छ । यसबाट सबैको कल्याण हुने कुरामा कसैको पनि दुईमत नहोला । स्मरण रहोस् अर्जुनधारा जलेश्वर धाममा मंसिर १७ गतेबाट धामको ४१औ बार्षिक अनुष्ठान देवी भागवत महापुराण आयोजना भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्