झापा, मंसिर २५ । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामको बाहिरपट्टि माग्नेहरु बीच बाटोमा पंक्तिवद्ध भएर बसेका छन् । बालाचतुर्दशी पर्वमा धेरै भक्तालुहरु आउने भएपछि धेरै भिक्षा पाइने भनेर माग्नेहरु पनि निकैजना भेला भएका हुन् । भक्तालुहरुबाट ती माग्नेहरुले केही नगद र चामल भिक्षा पाइरहेपनि शतबीज छर्ने नाममा धाम परिसरमा दर्जनौं मन अन्नको नाश भएको छ ।

अन्न भुइँमा छर्दै अनि त्यही अन्नमाथि कुल्चदै हिड्दा स्वयम् भक्तालुहरुमा पनि हिच्किचाहट देखिएको छ ।शतबीज छर्नेक्रममा एकजना भक्तालुले भन्दै थिए ‘यसरी अन्नमाथि कल्चदै हिड्दा हामीले धर्म गरेको हो कि पाप ?’ धामको गेटबाटै भक्तालुहरुले शतबीज छर्ने गरेका छन् । धामलाई परिक्रमा गर्ने बाटोभरि अन्न छर्दा चारैतिरको भुइँमा अन्नको राश फोहोरमा बद्लिएको छ भने पोखरीमा पनि भक्तालुहरुले धेरै अन्न छरेका छन् । हजारौं भक्तालुहरुले छरेको अन्नको फोहोर सफा गर्न गत वर्ष धाम समितिलाई निकै समस्या भएको थियो । यस वर्ष अझ धेरै अन्न छरिएको छ ।

शतबीज भन्नाले सय किसिमका चिजका गेडागुडीहरु भन्ने बुझिन्छ । यी शतबीजमा प्रयोग गरिने अन्नहरुमा गहुँ, सरस्यू, मकै, जौ, धान, बयर, अमला र अन्य फलफूल तथा कन्दमूलका टुक्राहरु पर्दछन् । यस वर्ष दिवंगत भएका आफन्तको चीर शान्ति, मंगल र पुण्यको कामना गरी शतबीज छर्ने चलन छ । आज बिहान विभिन्न शिवालयमा गई भक्तजनहरूले बालाचतुर्दशी पर्व मनाएका छन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी मनाइन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्