कृष्ण हुमागाँई,
राजतन्त्र भन्नासाथ अधिनायकवादी, निरंकुश शासनको झल्को आइहाल्छ । संसारमा जति पनि राजा महाराजाहरुको उदय भयो, हिंसाको बलमा अर्कोलाई जाल–झेल, षडयन्त्रबाट आक्रमण गरी निस्तेज पारेर, मारेर, काटेर राजगद्दी प्राप्त गरेका हुन् । मध्ययुगीन बर्बर शासकहरुले अर्को राज्य वा जनता र शासकमाथि चरम दमन गरेर आफ्नो हातमा सत्ता हत्याएका हुन् । जनताको अभिमतबाट भोट जितेर कोही पनि बंश परम्पराको उत्तराधिकारी हुने राजा भएका छैनन् । राजतन्त्रमा यस्तो प्रणाली संभव हुँदैन । प्रजातन्त्र, लोकतन्त्रमा मात्र जनताले रोजेका, चुनेका प्रतिनिधिले आवधिक शासन सञ्चालन गर्दछन् । एक पटक सत्तामा पुगेपछि पैतृक सम्पत्ति जस्तैगरी सत्ता प्राप्त भइरहने बंश परम्परा भयो भने शासक जतिसुकै निरंकुश, अधिनायकवादी भएपनि फेर्न कठिन हुन्छ । जनताले त्यस्ता तानाशाहीका बिरुद्ध कठोर संघर्षहरु गर्नु परेका कयौं र सयौं उदाहरणहरु छन् हाम्रै देशसहित विश्व राजनैतिक परिवेशमा ।

बन्द समाजमा हाम्रा पुर्खाहरुले निरंकुश राजशाहीलाई बाध्यताले स्वीकारे । चेतनाको अभाव, चरम गरिबी, बिज्ञान प्रविधिको विकास नभएको अन्धकारको युगमा शासकलाई भगवानको अवतारको रुपमा परिभाषित गरेर धर्मप्रतिको मानिसको आस्थालाई दुरुपयोग गर्दै आफ्नो मालिकको अधिनायकत्व टिकाउन दरबारिया षडयन्त्रकारी गिरोहका दास मतियारहरु सक्रिय रहे । तर अब त्यो जमाना छैन । कोही मानिस कुनै सत्कर्म नगरी जन्मकै आधारमा स्वतः शासनसत्तामा बस्न पाउने, अरुले भने यथेष्ट क्षमता र योग्यता हुँदा पनि त्यही नालायक शासकलाई मान्नुपर्ने असमान र अलोकतान्त्रिक ब्यवहारलाई त्यही मानिसले मात्र स्वीकार र वकालत गर्दछ– जोसँग उच्च चेतनास्तर छैन र ऊ दासत्वमै रम्न, रमाउन चाहन्छ । शासककोे बच्चालाई जन्मदै सुयोग्य मान्नुपर्ने अनि अन्यले जति नै ज्ञान र सीप भएपनि तिनैको कारिन्दा बन्नुपर्ने कुरालाई ठीक हो, हामी यस्तै बन्छौं , यस्तै मान्छौं, यही ठीक हो भन्ने दासहरुकोे दरिद्र सोचलाई दया गर्नुभन्दा अरु के नै गर्न सकिन्छ र ? जनताको छोराछोरीले त जनअधिकारका लागि लड्ने हो । राजाको अधिकारका लागि त तिनकै हुक्के, चम्चे दासले बोल्ने हो । जसलाई आफू सार्वभौम हुन पाएकोमा गर्व छैन र सामन्ती राजतन्त्रको दास बनिरहन पाऊँ भन्छ भने तिनको चेतनास्तरमाथि दया गर्नु शिवाय अरु के गर्न सकिन्छ र ? हुन त, सामन्तको बासीभात–जुठोपुरो खाएका दलालको मति र गति नै यस्तै हुने हो ।

सार्वभौमसत्ता जनतामा निहित भएको, आफैं शासनसत्तामा पुग्नसक्ने अवस्था भएको मुलुकमा अर्कै शासकले आफूमाथि बंश परम्पराका आधारमा शासन गरोस् भन्ने बिचित्रको सोच र चाहना लिएकाहरु पनि छन् यस धर्तीमा । राजतन्त्र, कुलिनतन्त्र भनेका सामन्तवादका नाइके हुन् । सामन्तवादले मानवीय मूल्य र मान्यतालाई समानताका आधारमा स्वीकार गर्दैन, गर्न सक्दैन । उनीहरुको भाषा, शैली, उठबस, बोली–ब्यवहार आम मानिसहरुकाप्रति समान हुँदैन । मानिस र मानिसकै बीचमा उच र नीचको चरम बिभेद हुन्छ । यस्तो असमान र अपमानजनक कुरालाई स्वीकार गर्ने तर निर्वाचनमार्फत आम जनताका छोरा–छोरीले आफैं शासनसत्ताको सर्वोच्च स्थानमा पुग्न पाउने अवस्था र ब्यवस्थालाई सदुपयोग गर्न नचाहनेहरुलाई सँधै दासत्व नै सर्वोपरि हो भन्ने लागिरहन्छ र तिनीहरु आफूमाथि कुनै अमुक शासकले सँधै शासन गरिरहोस् भन्ने चाहन्छन् । त्यस्ताहरु कि त दरबारिया अभिजात्य वर्गद्वारा पालित–पोषित छन् या तिनको उच्चस्तरको चेतनाशक्ति विकास भएकै छैन र तिनीहरु दासत्वमै रमाउन चाहन्छन् । यी दासहरुले बंश परम्पराका आधारमा राजशाही माग गर्दा एक्काइसौं शताब्दीको युवाशक्तिले त्यस्तो गलत कुरालाई महत्व दिनु हुँदैन । बिचरा दास मानसिकता भएकाहरु उन्नत चेतनास्तरको मानिस बन्न सकेका रहेनछन् भनेर तिनीहरुकाप्रति दया गर्दै लोकतन्त्रको महत्व सम्झाउँदै आफैं शासनसत्तामा जानसक्ने र पाउने अवस्था र ब्यवस्थाको महत्व बुझाउनेतर्फ आधुनिक समाजका युवाहरु अग्रसर हुनु आजको मुलुकको आवश्यता हो ।

राजतन्त्र र राजसंस्थाबीचको अन्तर र नेपाली राजनीति
अहिले नेपालमा राजतन्त्रको माग गर्ने राजावादीहरु सडकमा प्रदर्शनमै उत्रिन थालेका छन् । तिनीहरु २०४६ सालको परिवर्तनले ल्याएको प्रजातन्त्र र २०६२–०६३ सालको आन्दोलनपछि प्राप्त लोकतान्त्रिक गणतन्त्रकालमा टाउको लुकाउन नेपाली काँग्रेस र नेपालका बिभिन्न कम्युनिष्ट पार्टीमा घुसेर बसेका थिए । केही पूर्वपञ्चहरु र परिवर्तनपछि काँग्रेस–कम्युनिष्ट पार्टीमा ओत लाग्न आएका द्वैध चरित्र भएकाहरु लोकतान्त्रिक ब्यवस्थाको उदारताको फाइदा लिंदै अहिले सक्रिय राजतन्त्रको वकालत गरिरहेका छन् । आन्दोलन पनि अरे ? केका लागि भन्दा आफ्नो हक–अधिकारका लागि होइन । सामन्तवादको अवशेष चिहानमा मिल्काइएको राजतन्त्रको सिनो ब्युँताउनु पर्याे भनेर । उनीहरुकै परिभाषामा पनि राजाले त माग, आन्दोलन गर्दैनन्, गराउँदैनन् । राजाज्ञा–आदेश कानून हुने राज परम्परामा हुकुम प्रमाङ्गी पो गर्दछन् त राजाले । जुन कुरा अबको दुनियामा त्यो पनि चिहानमा पुगेको, कुहिएको, सडिसकेको राजतन्त्रको भूत ब्युँताएर सक्रिय राजशाहीको परिकल्पना भनेको स्वस्थ दिमागको उपज होइन, हुन सक्दैन ।

अहिले एकखाले राजावादीहरु राजतन्त्रको वकालत गरिरहेका छन् भने अर्को खाले राजावादीहरु राजसंस्थाको पुनस्र्थापना भनिरहेका छन् । राजतन्त्रमा राजाको प्रत्यक्ष शासन नायकत्व हुन्छ भने राजसंस्थाले जनताबाट निर्वाचित प्रतिनिधिमार्फत शासनसत्ता चलाउने र आफू संवैधानिक परिधिभित्र बस्ने हुन्छ । संस्था भनेको बिधि–बिधान, नियम–कानून अनुसार चल्छ भने राजतन्त्र भनेको हुकुम, आदेश, मर्जीबाट चल्छ । त्यहाँ शासकलाई कुनै नियम–कानून लाग्दैन । कुनै अदालत वा न्यायिक निकायमा कुनै उजुर बाजुर गर्न पाइदैन, लाग्दैन , गर्न पाइदैन । अब यी दुईखाले राजावादीहरुले कस्तो राजाशाही मागेका हुन् ? राजतन्त्र त २०४६ सालको आन्दोलनले पञ्चायती ब्यवस्था ढालेसँगै सकियो । ०४६ को राजनैतिक परिवर्तनपश्चात् नेपालमा संवैधानिक राजसंस्था स्थापित भयो । आफ्नै दाजु बिरेन्द्रको बंशबिनास हत्याको जनआरोप खेपिरहेका ज्ञानेन्द्र शाहले ब्यापक जनबिरोध हुँदाहुँदै पनि राज्यसहायक हुँदै संवैधानिक राजसंस्थाको स्थानमा बस्न भने पाएकै हुन् । तर, उनमा राजा भएको एकाध बर्षमै आफ्ना स्वर्गीय पिता महेन्द्रको जस्तो सक्रिय राजतन्त्रको हुकुमी शासक हुने भूत सवार भयो र नेपालबाट निरंकुश राजतन्त्र सँधैका लागि गयो ।

स्वाभिमानी महान नेपाली जनताको कठोर संघर्ष र नेपाल आमाका हजारौंं–हजार वीर शहीदहरुको उच्च बलिदानबाट प्राप्त संसारकै उच्चतम् शासन प्रणाली लोकतान्त्रिक गणतन्त्र मुठ्ठीभर सामन्तका दलाल, दासहरुले चाहदैमा हटने त कुरै छाडौं, हल्लिदा पनि हल्लिदैन । अँ यो ब्यवस्थालाई सञ्चालन गर्ने स्थानमा बसेका वर्तमानमा लोकतान्त्रिक बिधिबाटै सत्तामा पुगेकाहरुको आचरण र ब्यवहार सच्चिएन भने, जनमुखी कार्यक्रमहरु ल्याइएन भने, भ्रष्टाचारको दलदलबाट मुलुकलाई निकास दिइएन भने, बिगदेखि वर्तमानसम्म सत्तामा पुगेकाहरुले गरेको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारवाही गरिएन भने आगामी निर्वाचनमा त्यस्तालाई जनताले चुनावको मैदानमै दण्डित गर्नेछन् । उनीहरुलाई चुनावबाटै पाखा लगाउने, हटाउने प्रबन्ध पनि यही लोकतन्त्रमा मात्र हुन्छ । कुनै एउटा ब्यक्ति वा परिवार वा पार्टीको अधिनायकवादी शासनमा त्यस्तो शासकलाई बिधिको माध्यमबाट हटाउन सकिन्न । हटाउनु परे संघर्ष गर्नुपर्छ, शासक दमनमा उत्रन्छ र रक्तपात हुन्छ । अनि कोही खराब भयो भने हटाउन पाउने संवैधानिक, कानूनी प्रावधन र आवधिक निर्वाचनको प्रवन्ध भएको मुलुकमा हटाउनै नमिल्ने अधिनायकवादी शासक किन चाहिएको होला ? एक्काइसौं शताब्दीका केही नेपालीलाई चाहिँ ?

लोकतन्त्र भनेको जनताद्वारा जनताका लागि जनताले गर्ने शासन अर्थात सभ्य मानिसले सभ्यहरुबाट चुनिएर सभ्यमाथि नै शासन गर्ने प्रणाली हो । कुनै ब्यक्ति, बंश–परिवार, एकदलीय वा सैनिक तानाशाही अधिनायकवादमा असभ्य मान्छेले सभ्यलगायत सबैमाथि शासन गर्दछ । लोकतन्त्रमा खराबमध्येको कम खराब मानिस मात्र शासन सत्तामा पुग्छ भन्ने मानिन्छ । किनकी खराबलाई जनताले चुन्दैनन्, रोज्दैनन्, खोज्दैनन्, छान्दैनन् र मान्दैनन् भन्ने मान्यता राखिन्छ । त्यसैले एकपटक पद–ओहदामा पुगेपछि जतिसुकै खराब र अयोग्य भएपनि उसको दर सन्तानलाई बंश परम्पराका आधारमा जन्मदै शासक मान्नुपर्ने दास परम्परालाई आत्मसम्मान भएको स्वाभिमानी, चेतनशील मानिसले स्वीकार्नै सक्दैन । प्रत्येक नेपाली नागरिक राज्यको उपल्लो निकायमा पुग्नसक्ने खुल्ला अवसरको उपयोग, सदुपयोग गर्नेतर्फ लाग्दछ । न कि कुनै सामन्तको सन्तानको गुलाम हुन चाहन्छ ।

राजतन्त्रको आडमा जनतामाथि शोषण, दमन र उत्पीडन मच्चाउँदै आएको दरबारिया अभिजात्य वर्गको पृष्ठपोषक पञ्चायतको अवशेषले बेला–बेला टाउको उठाउने गरेको छ । यो सब वर्तमान राजनीतिमा सक्रिय बुढा नेताहरुको बेढङ्गे पाराको उपज पनि हो । अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर बुढो पुस्ताले अभिभावकीय भूमिका निर्वाह गर्न जति ढिला हुन्छ, त्यति नै जनतामा निराशा बढेर जानेछ । पुरानो पुस्ताले लोकतन्त्रका लागि संघर्ष गर्याे, जेलनेल, यातना भोग्यो । यसका लागि धन्यवाद दिँदै लोकतन्त्रका लागि लडेका दलका नयाँ पुस्ताले नेतृत्व हस्तान्तरणका लागि अनेक काण्डहरुमा गन्हाइसकेको पुरानो पुस्ताका नेताहरुमा बैधानिक दवाव सिर्जना गरेर अघि बढनु पनि आजको अपरिहार्य आवश्यकता बन्दै गएको छ । नेता खराब भए नयाँ नेता जन्माउने हो । जनताले आफैं नेतृत्व लिने हो, कुनै सामन्तवादको अवशेष, चिहानमा सडेको सिनो बोकेर हिड्ने होइन ।

शाह बंशका राजाहरुले कहिले–कहिले शासन गरे ?
(क) नेपाल एकीकरण हुनुअघि गोरखाका शाहबंशीय राजाहरूको शासन अवधि –
(१) द्रव्य शाह – वि.सं. १६१६ भाद्र २५ देखि १६२७ सम्म

(२) पुरन्दर शाह – वि.सं. १६२७ देखि १६६२ सम्म

(३) छत्र शाह – वि.सं. १६२७ देखि १६६३ सम्म असामयिक रूपमा ज्यान गुमाएका छत्र शाहले सात महिना मात्र राज गरे । यिनी निसन्तान भएकोले राम शाहले राजा हुने अवसर पाएका थिए ।

(४) राम शाह – वि.सं. १६६३ देखि १६९३ सम्म

(५) डम्बर शाह– वि.सं. १६९३ देखि १७०१ सम्म

(६) कृष्ण शाह – वि.सं. १७०१ देखि १७०७ सम्म

(७) रूद्र शाहः– वि.सं. १७०७ देखि १७२८ सम्म

(८) पृथ्वीपति शाहः– वि.सं. १७२८ देखि १७७३ सम्म पृथ्वीपति शाहका छोरा वीरभद्र शाह युवराज अवस्थामा नै निधन भएको र उनका भाइहरू पनि राजा बन्ने प्रभावशाली नदेखिएकाले उनीपछि नरभूपाल शाह राजा बनेका हुन् ।

(९) नरभूपाल शाहः– वि.सं. १७७३ देखि १७९९ सम्म राजा बने ।

(ख) नेपाल एकीकरणपछिका शाहवंशीय राजाहरूको शासन अवधि
द्रव्य शाहले गोरखा राज्य वि.सं. १६१६ भाद्र २५ मा स्थापना गरेका थिए भने यशोब्रम्ह शाहले लमजुङ राज्यको स्थापना गरेका हुन् । नेपालमा यसरी शाहवंशीय राजाहरूको उदय भएको थियो । बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्ने अभियान चलाएपछि पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोटमाथि आक्रमण शुरू गरी विजय भएपछि वि.सं. १८२५ मा ईन्द्रजात्रामा कान्तिपुर विजय गरेपछि आधुनिक नेपालको निर्माण गरेका हुन् । यही वर्षदेखि शाहवंशीय राजाहरूको शासन अवधि शुरूवात भएको मानिन्छ ।

(१०) पृथ्वीनारायण शाहः– वि.सं. १७९९ – १८३१

(११) प्रताप सिंह शाहः– वि.सं. १८३१ – १८३४

(१२) रणबहादुर शाह– वि.सं. १८३४ –१८५५

(१३) गिर्वाणयुद्ध वीर बिक्रम शाहः– वि.सं. १८५५ – १८७३ राजा गिर्वाणयुद्ध वीर बिक्रम शाहको पालामा नेपाल अंग्रेज युद्ध भएको थियो भने नेपाल सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य भएको थियो । वि.सं. १८७२ मंसिर १९ मा सुगौली सन्धि हुँदा नेपालले आफ्नो एकतिहाई भूभाग गुमाउन पुगेको थियो ।
(१४) राजेन्द्र विक्रम शाहः– वि.सं. १८७३ – १९०४ वि.सं. १९०३ भदौ ३१ गते कोत पर्व घटेको थियो उक्त घटनापछि जङ्गबहादुर राणा सत्तामा आएका थिए, त्यही दिनदेखि नेपालमा १०४ वर्षको जहानीया राणा शासन शुरू भयो ।

(१५) सुरेन्द्र विक्रम शाह– वि.सं. १९०४ – १९३८

(१६) युवराज त्रैलोक्य विक्रम शाह राजकुमारमै मृत्यु

(१७) पृथ्वी वीर विक्रम शाह– वि.सं. १९३८ – १९६८

(१८) त्रिभुवन वीर विक्रम शाह– वि.सं. १९६८–२०११

(१९) महेन्द्र वीर विक्रम शाहः वि.सं. २०११ – २०२८

(२०) वीरेन्द्र वीर विक्रम शाह– वि.सं. २०२८ – २०५८

(२१) दीपेन्द्र वीर विक्रम शाहः– ३ दिन अचेत अवस्थामा राजा घोषणा गरियो र आफ्ना माता–पितासहित बंशबिनास गरेको आरोप उनै दिपेन्द्रलाई लगाएर राज्य सहायक हुँदै त्यसपछि ज्ञानेन्द्र राजा बने ।

(२२) ज्ञानेन्द्र वीर विक्रम शाहः– वि.सं. २०५८ – २०६५ ÷२÷१५ राजा बने र उनकै पालामा साढे चारसय बर्ष पुरानो राजतन्त्रको इतिहास समाप्त भयो ।

कसलाई राजा बनाउने भन्नेमा राजावादीबीच नै रडाको
साढे चारसय बर्ष पुरानो राजतन्त्रको इतिहास ज्ञानेन्द्रकै कुबुद्धिका कारण समाप्त भएको हुँदा उनीभन्दा असल पात्रको खोजी पनि राजावादीहरुले नै गर्न थालेका छन् । ज्ञानेन्द्रबाट राजतन्त्र जोगाउन नसकिने ठहर पूर्वपञ्चहरुको एक झुण्डले गर्दै आएको छ । उनीहरु पारस पनि राजा हुन लायक नभएको, बुढो ज्ञानेन्द्रको पनि छवि जनतामा त्यति राम्रो नभएको हुँदा नाति ह्रदयन्द्रलाई राजा बनाउने अभियानमा लागेका छन् भने ज्ञानेन्द्रद्वारा पालित–पोषितहरु खोसिएको राजगद्दी ज्ञानेन्द्रलाई नै फिर्ता गराएर उत्तराधिकारीलाई जिम्मा लगाउनु पर्ने मत राखिरहेका छन् । यसका लागि राजावादीहरुले नेपालका कट्टर हिन्दूवादी संघ–संस्थाका मानिसका साथै पुजारी, पण्डित र धर्मगुरुहरुको सहारा खोजिरहेका छन् । उनीहरुलाई भारतीय संस्थापन र त्यहाँको हिन्दू जनमतको समर्थन रहने बिश्वास रहिआएको छ ।

अझ राजावादीहरुको अर्को एउटा समूह त महेन्द्रका जेठा छोरा रबिन्द्र वीर बिक्रम शाहका जेठा छोरा बबिन्द्र वीर बिक्रम शाह जिवितै रहेको हुँदा राजाको असली हकदार यी साइला राजा ज्ञानेन्द्र नभएर बबिन्द्र हुन् भनिरहेका छन् । बबिन्द्र भनेका राजा महेन्द्रका जेठी श्रीमती गीता गुरुङ्गपट्टिका जेठा छोरा रबिन्द्रका पनि छोरा हुन् । रबिन्द्र जेठा, बिरेन्द्र माइला, ज्ञानेन्द्र साइला र धिरेन्द्र कान्छा छोरा हुन् महेन्द्रका । महेन्द्रले रबिन्द्रलाई राजकुमारको उपाधि पनि दिएको र महेन्द्र मर्दाखेरी रबिन्द्र काजकिरियामा समेत बसेको र रबिन्द्रका सन्तान जेठो हाँगो भएको हुँदा राजा उनैका छोरा बबिन्द्रलाई बनाउनु पर्ने भन्दै हिडेको छ । शाहबंशीय राज परम्पराअनुसार राजाको जेठो छोरा राजा हुने चलन रही आएको छ । त्यही कारण छोरा महेन्द्रको जेठो छोरा त रबिन्द्र नै हुन्, अनि उनकै सन्तान राजा हुनुपर्छ भन्ने यो समूहको योजना छ ।

अर्को एउटा समूह त जगतप्रकाशजङ्ग शाहका जेठा छोरा नविनप्रकाशजङ्ग शाह नै शाह बंशका असली हकदार हुन् भनेर झन् जोडतोडले प्रचार गरिरहेको छ । नविनप्रकाशजङ्ग शाह भनेका रणबहादुर शाह वि.सं. १८३४ –१८५५का ब्याइते महारानी सुवर्णप्रभाका जेठो छोरा रणउद्दतको जेठो हाँगो हो । रणबहादुर शाहले बागमतीमा नुहाउँदै गरेकी तिरहुते बिधुवा बाहुनी कान्तावती झालाई अति नै मन पराएर रानी बनाउने प्रस्ताव गर्दा आफ्नो सन्तानलाई राजा बनाउने भए मात्र बिहे गर्ने भनेको र रणबहादुरले कान्तावतीको त्यो बाचा मानेको हुँदा तिनै तिरहुते ल्याइते बाहुनीपट्टिका गिर्वाणयुद्ध वीर बिक्रम शाहलाई राजा बनाए । गिर्वाणले वि.सं. १८५५देखि १८७३ सम्म शासन गरे । यसमा पनि रणबहादुरकी जेठी महारानी राजराजेश्वरीपट्टि छोरी मात्र भएका कारण माहिली रानी सुवर्णप्रभालाई बिहे गरेका थिए । माहिली रानीपट्टि रणउद्दत र शमसेर शाह दुई छोरा थिए । शमसेर शाहको सन्तानको बिषयमा केही भन्न सकिएन । तर रणउद्दत शाहको जेठो हाँगो जगतप्रकाशजङ्गका जेठा छोरा नविनप्रकाशजङ्ग शाह अहिले पनि जिवितै छन् । उनैलाई राजा बनाउनु पर्छ भन्ने राजावादीहरु पनि देखिँदैछन् ।
अपराधको दलदलमा फँसेको राजतन्त्र फर्किने संभावना छैन

नेपालमा राजतन्त्र फर्किने कुरामा केही पूर्वपञ्च र तिनले खोलेका पार्टीका कार्यकर्ता, केही बहुलठ्ठीपूर्ण लहडी मान्छे र नेपालको प्रजातान्त्रिक, लोकतान्त्रिक–आन्दोलनमा कुनै योगदान र भूमिका नभएका मानिसहरु जोडतोडले प्रचार गरिरहेका छन् राजा अहिले आइहाल्छन्, भोलि आउँछन् भनेर । राजा ज्ञानेन्द्र आफैं पनि राजा हुन्छु, मलाई राजा बनाऊ भनेर हिंडेका छैनन् । उनीमाथि अधिराजकुमार हुँदा रातो पासपोर्टको दुरुपयोग गरेर मूर्ति चोरी गरेको, नमिता–सुनिता हत्याकाण्ड, लागूऔषध कारोबार, पिसकोर, छिन्ताङ्ग, टिम्बुरबोटे काण्ड, पत्रकार पदम ठकुराठीमाथि गोली प्रहार गर्ने जस्ता जघन्य अपराधमा भूमिगत गिरोह परिचालन गरेको र कतिपय घटनामा आफैं पनि संलग्न भएको संगीन आरोप लागेको छ ।

त्यतिमात्र होइन, आफ्नै दाजु बिरेन्द्रको बंशबिनास हुनेगरी नारायणहिटी नरसंहार गराएर राज्य सहायक हुँदै सबै दोषजति दिपेन्द्रको टाउकोमा थोपरेर राजा समेत हुन सफल भएको अधिकांशजसो नेपाली जनताको बुझाई रहेको छ । दरबार हत्याकाण्ड कसले गरायो र दोषी को हुन् भन्ने बिषय अझै पनि रहस्यकै गर्भमा छ । आठ बर्ष राजगद्दीमा बस्दा पनि ज्ञानेन्द्रले नारायणहिटी हत्याकाण्डको छानबिन गरी दोषी पत्ता लगाउने काम नगरेका कारण शंकाको सुई उनैतिर सोझिएको आम सर्वसाधारणको सहज अनुमान छ । ब्यापारी पृष्ठभूमि भएको, राजकाजभन्दा नाफा र कमाइमा रमाउने उनको पुरानै सोच र शैलीका कारण पनि उनी राजा बन्न लायक त छैनन् नै , थिएनन् पनि । तर नियतिले उनी तीन बर्षको उमेरमा २००७ सालमा पहिलो पटक र ५४ बर्षको उमेरमा दोस्रो पटक २०५८ सालमा राजा भएका थिए । ज्ञानेन्द्रले संवैधानिक र अधिनायकवादी सक्रिय राजतन्त्र चलाएर जनतामाथि घोर दमन गरेको सास्ती भोग्ने स्वतन्त्रताप्रेमी नेपाली जनताले भूलिसकेका छैनन् ।
अब रह्यो ज्ञानेन्द्रपछि उनका छोरा पारस शाहको । पारसले त म राजा बन्नका लागि जन्मेकै होइन भनेर सार्वजनिक रुपमै भनिसकेका छन् । उनी आफैं राजावादी होइनन्, नेपालवादी बन । यो वादी, ऊ वादीले बिभाजन ल्याउँछ, सबै नेपालवादी बनौं देश बन्छ, म राजासाजा बन्ने होइन, मलाई यही लोकतन्त्रको स्वतन्त्रतामा इन्जोय गर्न देऊ भनिरहेका छन् । पारसको छवि, उनले बिगतमा गरेका प्रविण गुरुङ्गको हत्या, लागूऔषधको प्रयोग, गुण्डागर्दी, लडाई झगडाको के कुरा गर्नु र ? यस्तालाई राजा बनाउने सपना देखिरहेका छन् कठै राजावादीहरु । द्रब्य शाहको पालादेखि ज्ञानेन्द्रसम्म आइपुग्दा चार सय ६५ बर्र्ष लामो नेपालको राजतन्त्रले देशलाई अन्धकारको युगमा जनतालाई दास बनाएर राख्यो । यिनको पुर्खाको शासनकालमा मानिसहरुलाई जनावर जसरी हाटबजारमा बिक्री गरिन्थ्यो । अरु देशमा विश्वविद्यालयहरु चार–पाँच सय बर्ष पहिलादेखि नै खुलेका थिए। तर, नेपालमा जनताका छोराछोरीले पढ्न पाउँदैन थिए । त्यो बिभेद्, यिनैका पुर्खाले गरेका हैनन् र ?
सँधै जाल–झेल, षडयन्त्र, दमन, शोषण, अन्याय, अत्याचारको भरमा शासनसत्ता टिकाउँदै आएको, द्रव्य शाहले राज्य हत्याएको बेलादेखि नै छिमेकी राजा रजौटाहरुमाथि चरम दमन, कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व, नारायहिटी पर्व जस्ता अनेकन आततायी घटना, परिघटना र रगतको आहालमा डुबेको नेपालको सामन्ती राजतन्त्रको पुनरागमनको वकालत दलाल र दासबाहेक कुनै पनि लोकतन्त्रवादी सभ्य नागरिकले गर्न सक्दैन, चाहदैन । जनताका छोराछोरी आफै राज्यको सर्वोच्च निकायमा जनताबाट अनुमोदित भएर पुग्नसक्ने संवैधानिक प्रावधान हुँदाहुँदै आफूमाथि शासन गर्न अरु नै सामन्तको सन्तान चाहिन्छ भनेर उसको दासत्व स्वीकार गर्नेहरुकाप्रति तिनको सोच, चिन्तन र चेतनास्तरकाप्रति दया गर्नु शिवाय अरु कै नै गर्न सकिन्छ र ?

राजतन्त्रलाई जसले हटायो, फिर्ता ल्याउन परे त्यसले मात्र ल्याउनसक्छ । त्यो भनेको नेपालको संसद् हो । संसदले चाह्यो भने केही परिवर्तनहरु हुन सक्लान् । तर, त्यसका लागि राजावादीहरुले चुनावमा दुईतिहाई ल्याउनु अनि बैधानिक बाटोबाटै जे गर्नु छ, त्यही गरे भैगयो नि । किन यो सडकमा भद्दा नाटक मञ्चन गर्नु, गराउनु ? लोकतन्त्रभन्दा उन्नत शासन प्रणाली दुनियामा कहीँकतै छैन । जनता सार्वभौम हुने शासकहरुले प्रत्येक पाँच–पाँच बर्ष जनताबाट अनुमोदन भएर मात्र शासनसत्तामा बस्न पाउने ब्यवस्थामा मात्र शासक जनतकाप्रति उत्तरदायी हुन्छ । स्वेच्छाचारी भयो, जनबिरोधी काम गर्यो भने अर्को चुनावमा जनताले पराजित गरेर दण्डित गर्न सक्छन् । तर राजा महाराज स्वेच्छाचारी, अत्याचारी, प्रजातन्त्र बिरोधी, अधिनायकवादी भएका अनेक उदाहरण हाम्रौ मुलुकमा अनेकौं छन् । यस्तो अवस्थामा त्यस्तो शासकलाई हटाउन नसक्ने कस्तो बिधिको परिकल्पना गरेका छन् ? राजाका दासहरुले ?

तसर्थ आजको बिज्ञान र प्रविधिको आधुनिक युगमा पुरातन राजतन्त्रको सोच नै उपयुक्त छैन, होइन यो विकसित मस्तिष्कको उपज नै होइन । र नेपालमा चिहानमा पुगेको राजतन्त्रको बहाली कदापि संभव छैन, त्यसमाथि राजावादीहरुको सडकको आन्दोलनबाट त त्यो झन् असम्भव छ । जनताले त आफ्ना लागि आफैं संघर्ष गरेर अधिकार खोसेर लिएका हुन् । पूर्व राजाले आफू नागार्जुन र शितल निवासमा बसेर अरुले नै लडाई लडेर मलाई गद्दीमा राखिदिन्छन् भनेर असम्भव कुरामा मख्ख नपरेकै राम्रो । न त ज्ञानेन्द्रमा राजगद्दीमा बस्न पाऊँ भनेर आन्दोलन गर्ने नैतिक हैसियत छ । उनले त्यो राजगद्दी पनि स्वाभाविक रुपमा प्राप्त गरेका होइनन्, अपुतालीमा पाएका हुन् । अपुतालीमा (सित्तैमा) पाएको कुराको कुनै माया हुँदैन । त्यसैले नेपालमा राजतन्त्र फर्किदैन । यसको कुनै संभावना नै छैन । अँ बरु ज्ञानेन्द्रले पार्टी खोलेर लोकतान्त्रिक अभ्यास गर्दै जनताबाट अनुमोदित भए भने चाहिँ शासन सत्ताको सर्वोच्च स्थानमा पुग्नसक्ने संभावनालाई भने लोकतन्त्रमा नकार्न सकिन्न । (लेखक हुमागाँई नेपाली काँग्रेस झापाका सचिव हुन् ।)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्