झापा,मंसिर २६ । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटमा मंगलबार भारतसँग १० विकेटले पराजित भएको छ ।

५३ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमा ५७ रन बनाउँदै नेपालमाथि १० विकेटको जित हात पा¥यो । यूएईमा भइरहेको प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अलआउट भएको थियो । यू–१९ मा नेपालको यो सबैभन्दा न्युन स्कोर हो । लगातार तेस्रो हार व्यहोर्दै नेपाल खेलको पहिलो चरणबाटै बाहिरएको छ ।

भारतको तर्फबाट अर्शिन कुलकर्नीले ३० बलमा ४३ र आदर्श सिंहले १३ बलमा १३ रन बनाए । नेपालको तर्फबाट गुल्सन झाले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिए ।

नेपालविरुद्ध भारतीय बलरलाई सुरुवातमा लय मिलाउन गाह्रो परेको थियो र उनीहरुले वाइड बल फालिरहे पनि नेपालले त्यसको फाइदा उठाउन सकेन । भारतले अतिरिक्तमा मात्र १३ रन दिएको थियो । त्यसमा १२ वाइड थियो । नेपालबाट कुनै ब्याटरले दोहोरो स्कोर बनाउन सकेनन् । नेपाली इनिङ्समा केबल ४ चौका समावेश थियो ।

दशौं नम्बरमा ब्याटिङ गरेका हेमन्त धामीले नेपालबाट सर्वाधिक ८ रन बनाए । अर्जुन कुमाल र दीपक बोहरा ‘बी’ ले समान ७ रन बनाए । दीपक र दीपेश कँडेलले सातौं विकेटमा जोडेको १२ रन नेपाली इनिङ्सको सबैभन्दा ठूलो साझेदारी रह्यो । दीपेशले ४ रन बनाए । दीपक बोहरा ‘ए’ १, उत्तम थापामगर शून्य, कप्तान देव खनाल २, दीपक डुम्रे शून्य, सुवास भण्डारी २ रनमा आउट भए । आकाश चन्द ४ रनमा अविजित रहे ।

दाहिने हाते तीब्र बलर राज लिम्बानीले दुबईस्थित आइसीसी एकेडेमी मैदान २ मा ७ विकेट लिँदै नेपाली ब्याटिङक्रमलाई तहसनहस पारे । उनले ९.१ ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर उत्कृष्ट प्रदर्शन गरे । आराध्य शुक्लाले २ र अर्शिन कुलकर्नीले १ विकेट लिए ।

प्रतियोगितामा नेपालले पहिलो दुई खेल हारिसकेको छ । पाकिस्तानले शुक्रबार नेपाललाई पहिलो खेलमा सजिलै ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग आइतबार नेपाल ७३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्