झापा,मंसिर २८ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोजपुरबाट धनकुटा प्रवेश गर्नेक्रममा एक व्यक्तिले अभद्र व्यवहार गरेका छन्।

महालक्ष्मी नगरपालिका–५ लेगुवाका महेश राईले ओलीलाई हातपात प्रयास गरेको प्रहरीले जनाएको छ । ओलीलाई स्वागत गर्ने क्रममा राईले अभद्र व्यवहार गरेका थिए । उनलाई तत्काल प्रहरी र युवा संघका कार्यकर्ताले नियन्त्रणमा लिएपछि घटना सामान्य बनेको थियो । घटनामा संलग्न राईलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता राजबाबु महर्जनले जानकारी दिए ।
घटनाबारे एमालेले मादक पदार्थ सेवन गरेका व्यक्तिले अस्वाभाविक व्यवहार गरेको जनाएको छ । घटनालाई अनर्गल प्रचार नगर्नसमेत आग्रह गरिएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले मादक पदार्थ सेवन गरेका व्यक्तिले देखाएको अस्वाभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।

यसैबीच धनकुटाबाट प्रहरीले पहिचानवादी आन्दोलनका १८ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा प्रदेश पहिचान संयुक्त संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र खारा राईसहितका कार्यकर्ताहरु रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा किरात राई यायोक्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसिं तिगेलालगायत उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई, पनित कुलुङलगायत १८ जना रहेका छन् ।उनीहरुलाई सिधुवा तथा लेगुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी महर्जनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्