बिर्तामोड ,मंसिर ३० । जनशक्ति बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४ ले पाँच वटा सेवाकेन्द्र विस्तार गर्ने भएको छ ।

हाल पाँच वटा सेवाकेन्द्र रहेको संस्थाले थप पाँचवटा सेवाकेन्द्र विस्तार गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाको नवौं वार्षिक साधारणसभा माइन्यूट प्रमाणिकरण कार्यक्रममा अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले प्रस्ताव गरेको सेवाकेन्द्र विस्तार सम्बन्धी प्रस्ताव बन्दसत्रले पारित गरेको ऋण उपसमिति सदस्य दीपा भण्डारीले बताइन् । संचालक समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कन्दङ्वाले बुद्धशान्तिको बुधवारे ,मेचीनगरको धुलावारी ,कचनकवलको बनियानी , झापा गाउँपालिकाको कामाटोली र शिवसताक्षीको दुधे बजारमा थप सेवाकेन्द्र खोल्ने प्रस्ताव गरेका थिए । प्रतिवेदन अनुसार संस्थाको वासलात १६ करोड ५१ लख १९ हजार ६७६ रुपैयाँको रहेको छ भने कारोबार १ अर्ब ४२ करोड ३३ लाख ७३ हजार ४८३ रुपैयाँ गरेको देखिन्छ । त्यस्तै संस्थाले १४ करोड २९ लाख ९५ हजार ५० रुपैयाँ ऋण लगानी र ९ करोड ४४ लाख ८६ हजार १५० रुपैयाँ बचत संकलन गरेको छ । ३ हजार ४८५ जना शेयर सदस्य रहेको संस्थामा शेयर पुँजी २ करोड ६१ लख ८५ हजार रुपैयाँ रहेको जनाइएको छ ।

संस्थाका अध्यक्ष कन्दङ्वाको अध्यक्षतामा भएको साधारणसभालाई प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि ओली, जिल्ला सहकारी संघका सदस्य तथा सुगम कृषि सहकारी संस्थाका अध्यक्ष ढुण्डीराज गुरागाँई , कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा कंचन पाण्डे ,भीमकुमारी चोम्लुङ, किरणदीप योङहाङ र कंचन श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट सेवाकेन्द्रको रुपमा गोलधाप सेवाकेन्द्र पुरस्कृत भएको छ । संस्थाका उपाध्यक्ष विष्णुप्रसाद योङहाङले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव मणिराज दंगालले गरेको व्यवस्थापक डिल्लीराम न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्