झापा , पुष १ । बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको फिल्म ‘चित्रा’ यही पुष २७ गते रिलिज हुँदैछ ।

फिल्मको रिलिज मिति नजिकिएसँगै निर्माण टिम तीव्र प्रचारप्रसारमा लागिरहेको छ । यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । निर्देशक लामिछानेले फिल्मका सम्पूर्ण कलाकारले निकै राम्रो काम गरेको र फिल्मले दर्शकको मन सोझै छुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।

‘चित्रा’ दर्शकले कतिको मन पराउनु हुन्छ भन्ने कुरामा निर्देशक लामिछाने उत्सुक छन् । उनी भन्छन् ‘मैले यसमा नयाँ कुरा केही दिएको छैन, दर्शकले मन नपराउने कुरा फिल्ममा छँदैछैन, यो युनिभर्सल एउटा सत्य हो, बाबु छोरी सम्बन्ध । त्यो सम्बन्धलाई र यो विषय मन नपराउने दर्शकहरु नै को होला र ? त्यसकारण नै यस फिल्ममा त्यो पावरसँगै आकर्षण छ ।’ फिल्ममा रोदनका कथा मात्र नभएर धेरै मसलाहरू पनि मिसिएको लामिछानेको भनाइ छ ।

फिल्ममा सन्तोष र शुभेच्छाका साथै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय छ ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ । यस्तै, फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, महेश पौडेलको छायांकन छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्