झापा,पुष २ । सहयोगापेक्षी सडक मानवलाई उद्धार गरेर आश्रय दिने उद्देश्यले मेचीनगर नगरपालिका–४ मा मावन सेवा आश्रमले रु. एक करोडको लगानीमा भवन निर्माण भइरहेको छ । पहिलो चरणमा करिब ५० जना सहयोगापेक्षी तथा बेसहारा सडक मानवहरुलाई आश्रयका लागि आवास र भान्सा भवनको निर्माण भइरहेको मानव सेवा आश्रमका अभियन्ता नवराज केसीले जानकारी दिए । चालु आर्थिक बर्षमा आश्रम सुरु गर्ने गरी भवन निर्माण गर्ने काम भइरहेको उनले बताए । स्थानीय रामबहादुर प्रधान र श्रीमतीहरु पूर्णमाया प्रधान, लक्ष्मी प्रधानले निःशुल्क प्रदान गरेको सवा दुई विगाह जमिनमा भवन निर्माण भइरहेको उनले बताए । सोही स्थानमै करिब दुई सय जना अटाउने क्षमताको भविष्यमा भवन निर्माण गर्ने आश्रमको तयारी समेत रहेको उनको भनाई छ । यस क्षेत्रमा बनिरहेको आश्रमको भान्सा घर निर्माणका लागि मेचीनगर नगरपालिकाले रु.२५ लाख दिने आश्वासन दिएको उनले बताए । उनले मेचीनगरमा आश्रमको भवन निर्माणसँगै झापा, इलामबाट उद्धार गरिएका असहाय, बेसहारा सहयोगापेक्षी सडक मानवलाई राखिने बताए । विगतमा जिल्लाबाट उद्धार गरिएकाहरुलाई विराटनगरस्थित आश्रममा राखिने गरिएको थियो ।देशका विभिन्न स्थानमा सञ्चालन आश्रममध्ये यहाँ निर्मित २३ औं शाखा रहेको अभियन्ता केसीले बताए। आश्रमले वि.स.२०८२ साल भित्रमा देशका सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन सहयोगापेक्षी व्यक्तिहरुको उद्धार गरी सडक मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखेको थियो ।दुई महिना अघि मात्र मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली सडक मानव उद्धार यात्रा’ समेत गरेको थियो । आनी छोइङ डोल्मा फाउन्डेसन र मानव सेवा आश्रमको सहकार्यमा मुलुकका ४६ जिल्लामा यात्रामा गरेर सहयोगापेक्षी सडक मानवहरुको उद्धार गरेर विभिन्न आश्रममा राखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्