बिर्तामोड, पुष २ । बन्द आव्हानका क्रममा इलामको रोङ गाउँपालिका –४ किटेनीस्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट किराँती भन्ने अन्जेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।


बुद्धशान्ति –४ का राईलाई जिल्ला प्रहरी कार्यालय ईलाम र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो ३ बजे अर्जुनधारा –११ नयाँ बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुले बताए । उनले त्यसबारे विस्तृत जानकारी भोलि सार्वजनिक गरिने जनाए ।

किराती प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिका बुद्धशान्ति संयोजक, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ, अभियानअन्तर्गत नागरिक युवा दस्ताका मेचीनगर संयोजक भएको बुझिएको छ ।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आव्हानमा कोशी प्रदेशमा यातायात बन्दको अवज्ञा गरेको भन्दै शनिवार पराल बोकेको मे १ ज ११४० नम्बरको पिकअप गाडीमा आगजनी गरिएको थियो ।

यसैबीच मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी अझै रिहा भएका छैनन् । बन्द हड्तालमा उत्रिएका अन्य नेताहरु रिहा भएपनि प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई रिहा गरिएको छैन । केन्द्रबाट रिहा गर्ने आदेश नआएकाले इलाका प्रहरी कार्यालय दमकमै राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । चौधरीसहित धनकुटामा एमाले अध्यक्ष केपी ओलीलाई दुव्र्यवहार गर्ने महेश राईलाई पनि प्रहरीले हिरासतमा राखिरहेको छ ।

यसैबीच चरणवद्ध आन्दोलन गर्ने क्रममा पक्राउ परेका पूर्वमन्त्री गोपाल किरातीलगायतका नेताहरु आईतबार साँझ छुटेका छन् ।
पूर्वमन्त्री किराती,जसपा नेता एवम् हलेसी तुवाचुङ युवा सह–संयोजक राजेश राई, जसपा नेता गन्धमान राई, हलेसी तुवाचुङ युवा सह–संयोजक विजय राई र नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ जनही १–१ हजार धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए। पूर्वमन्त्री किराती, राजेश, गन्धमान, विजय हलेसीबाट र चाम्लिङ नुनथलाबाट मंसिर २६ गते पक्राउ परेका थिए।

यस्तै, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति खोटाङ संयोजक युगसन किराती, युवा परिचालन समिति खोटाङ संयोजक निर्मल राई, जनता समाजवादी पार्टीका सचिव सुनिल चाम्लिङ, संघर्ष समिति सदस्यहरु संगीता किराती,लक्ष्मी राई, मेलिना राई, सोनामहाङ राई, सुनिल राई र उपार्जुन चाम्लिङ राई पनि आइतवार नै बिनाशर्त रिहा भएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्