झापा,पुष ३ । मोरङको लेटाङ ८ स्थित तेली खोलामा अवैध ढुङ्गा गिट्टी दोहन भएको भन्दै स्थानीय युवाले टिपरलाई खोला प्रवेश गर्न रोकेका छन् । व्यवसायीले कर समेत नतिरी स्टकको सामान भन्दै ओसारपसार गर्न थालेपछि युवा समूहले जाँतेको सिरिजंगा चौकमा प्रदेश नं. १-०२—००१ क ३९०९ नं.को टिपरसहित आएका सबै टिपरलाई खोला प्रवेशमा रोक लगाएका हुन् । गत वर्ष लेटाङ नगरपालिकाले टेण्डरमार्फत तेली खोला ठेक्का लगाएको थियो । खोला ठेक्का लगाएपछि नगरपालिकाले भदौ ६ गते सार्वजनिक सूचना प्रकाशित गर्दै आफूले खोलाबाट निकालेको खोलाजन्य पदार्थको स्टक प्रमाणित गर्न आह्वान गरेको थियो । नगरपालिकाले सूचनामा उत्खनन भएको सामग्री स्टक प्रमाणित गरी कात्तिक मसान्तभित्र बिक्री वितरण गरी सक्नुपर्ने भनेको थियो । कात्तिक मसान्तभित्र स्टक सामग्री निकासी नगरे जफत गर्न सकिने नगरको सूचनामा उल्लेख छ । तर पुष लागिसक्दा पनि व्यवसायीहरूले स्टक सामग्री भन्दै खोलामा टिपर हालेर ढुङ्गा गिट्टी निकाल्ने क्रम नरोकिएपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् । उता खोलाको ठेक्का लिने कम्पनीका सञ्चालक भीम पौडेलले भने कोशी प्रदेश सरकारको नयाँ कानुन अनुसार स्टक सामग्री बिक्री गरिरहेको बताए । उनले भने, “कोभिडको समयदेखि स्टक सामग्री बिक्री भएको थिएन । नगर पालिकासँग पुरानो स्टक सामग्री बिक्री सम्बन्धी कानुन थिएन ।“ प्रदेश सरकारले प्रति घनमिटर २० रुपियाँ तिरेर स्टक सामग्री बिक्री गर्न पाउने कानुन बनाएपछि सोही अनुसार स्टक सामग्री ओसारपसार भइरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्