झापा जिल्लाको हल्दिवारी गाउँपालिका–४ जलथलमा स्थायी बसोवास गर्ने माता–पिता पम्फादेवी र टिकाराम पौडेलको पहिलो सन्तानको रुपमा वि.सं. २०५५ असोज ३० गते जन्मिएकी मेनुका पौडेल पूर्ण दृष्टिविहीन थिइन्। उनीलगायत साङ्ग दुईजना बहिनीहरु छन भने परिवार कृषि पेशामा आवद्ध छ र कमाइको अन्य स्रोत केही छैन।करिव ६ वर्षको उमेरमा झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयको स्रोत कक्षामा भर्ना भएकी एउटी सानी बालिकाले ब्रेल भाषा
सिकेर ब्रेललीपिमा पढ्दै २०७१ को एस.एल.सी.मा नियमित तर्फबाट सहभागी भई प्रथम श्रेणीमा उत्तीर्ण गरेकी हुन् । सानैदेखि पढाइ तथा संगीतमा मेहनत गर्ने बानी परेकाले नतिजा पनि राम्रो निकाल्न सफल भइन् । वि.स. २०५० देखि दुर्गा मा. वि. मा दृष्टिविहीन तर्फको २ वटा कोटा (१ कोटा बराबर १० जना)को आवासीय स्रोतकक्षा सञ्चालन भएको थियो । हाल एक कोटा बराबरका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

वि.सं. २०५७ सालतिर गरामनी प्याकुरेल चौक निवासी यातायात व्यवसायी टंक प्याकुरेलको सक्रियतामा मेची यातायात व्यवस्था कार्यालय बिर्तामोड र दुर्गा मा. वि. बीच भएको सम्झौता अनुसार वार्षिक ३० देखि ४० हजार सहयोग रकम दृष्टिविहीनको वृत्ति विकासमा खर्च गर्ने गरी प्राप्त हुने भएपछि विद्यालयले विद्यार्थीहरुको उत्सुकता बढाउन संगीत कक्षा सञ्चालन गर्ने निधो ग¥यो। गरामनी निवासी भिष्मकुमार न्यौपानेको स्वार्थरहित सक्रियता र विराटनगरका संगीतविज्ञ कुशेश्वर राईलाई प्रतिहप्ता रु एक हजार शुल्क दिनेगरी दृष्टिविहीन विद्यार्थीहरुलाई संगीत गुरुले वाद्यवादन र सरगम सिकाउन सुरु गर्नुभयो। मेनुका आएपछि आफूभन्दा ठूला दाजु–दिदीहरुले बाजा बजाउँदै गाएको सुनेर आफू पनि लय हाल्न र बजाउने प्रयत्न गर्न थालिन् ।

मेनुका, सागर लगायतका विद्यार्थीहरूले २०७३ सालतिर दमक निवासी संगीत गुरु अनिल फागोको प्रत्यक्ष निगरानी प्रशिक्षणमा सुझबुझकासाथ कडा मेहनत गरेर संगीत सिक्दै गए भने भिष्म न्यौपानेले बिहान ४ बजेदेखि कडा अनुशासन र अनिवार्य गरेर योगा र संगीत अभ्यास गराउँदै खरो उतार्नु भयो । ब्रेलभाषाको शिक्षण स्रोत शिक्षक खिलप्रसाद सिवाकोटीको निगरानीमा भएको थियो ।

दुर्गा मा. वि. का दृष्टिविहीन विद्यार्थीहरुप्रतिको संगीत गुरुको सहयोगी भावना र सिकाएरै छाड्ने प्रतिवद्धताले संगीत सिकाइको गति बढेर गएको थियो। विद्यालयमा अध्ययनरत रहेकै बेला मेनुका पौडेल, सागर अधिकारी, किशोरा अर्याल, धनपति साँवा र अस्मिता सिवाकोटीले भारतको अलाहावाद विश्वविद्यालयबाट संगीतमा डिप्लोमा पुरा गरे । यो कार्य विद्यालयको गौरवको विषय थियो भने विद्यार्थीका लागि एउटा आत्मनिर्भर रहने सीपको विकास भएको थियो ।

विद्यालयका प्रधानाध्यापकको सकारात्मक सोच र चासो, अधिकतम स्रोत साधनको उचित व्यवस्थापन गर्दै विद्यार्थीको वैयक्तिक सीप विकासमा कुशल नेतृत्व प्रदान गरेका थिए। यही कारणले मागेर र अरुले दया देखाएको भरमा अपाङ्गहरु बाँच्नु पर्ने बाध्यकारी अवस्थालाई चिर्न आज संगीतलाई आधार बनाएर आर्थिक स्रोत जोड्न, सम्मान पाउन र आफ्नो प्रतिभा देखाउन सफल भएका छन् । मेनुकाले काठमाण्डौमा कक्षा ११–१२ को पढाइ मानविकी सङ्कायअन्तरगत संगीत विषय लिएर पूरा गरिन् भने स्नातक तह भारतको आजिवासन म्युजिक एकाडेमीबाट गर्दैछिन् ।

एउटा सानो गाउँमा जन्म लिएर उर्वर समय दुर्गा मा. वि. मा शिक्षा र संगीतमा खर्चेकी मेनुकाले भारतको सोनी टीभीले चलाएको १४औं प्रतियोगितात्मक सांगीतिक माहोलमा आफ्नो अद्भुत जादुगरी “गलाको कला” दुनियालाई देखाएर उनी उत्कृष्ट १२ मा छनौट भएकी छन् भने सबैले जितको दावेदार भन्दै अग्रिम बधाई र शुभकामनाको बाढी नै ल्याएका छन् ।
मान्छेले उपलब्धि पाउनु मात्र ठूलो कुरा होइन । त्यसलाई जोगाएर बचाउन सक्नु झनै ठूलो गौरवको विषय बन्छ । अहम र घमण्डता जो मान्छेमा आउन थाल्छ, ऊ चुचुरोबाट फेदमा पुग्दछ। मेनुकालगायतका प्रतिभामा यो नकारात्मक ऊर्जाले कहिल्यै पनि स्थान नपाओस् कामना गर्दछु ।

जन्म दिने जन्मदाता, जन्मभूमि, गुरु, पढेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पाठक, स्रोत शिक्षक खिलप्रसाद सिवाकोटी, भिष्म न्यौपाने, आयाहरु निमाइ निरौला, मिना राय, इन्दिरा अधिकारी संघ–संस्था, पत्रकार, रेडियोकर्मी जसले मेनुका र मेनुकाजस्ता प्रतिभालाई आफ्नो अब्बल क्षमता देखाउन, प्रदर्शन गर्न र प्रचारमा व्यापकता ल्याउन उल्लेख्य भूमिका खेलेका छन्, उनीहरुलाई कहिल्यै भुल्नु हुँदैन। हामी सबैको तर्फबाट मेनुकाको दिन दुई गुणा रात चार गुणा उन्नति, उत्तरोत्तर प्रगतिको कामना गर्दै सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछौं ।
( पाठक दुर्गा माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक हुन् ।)

१ प्रतिक्रिया

  1. अति राम्रो कुरा पढन पाइयो । कुरा कुरामा एउटा प्रशङ यातायात व्यवस्था कार्यालय बाट आउदै गरेको रकम १ वर्षको सिढी माथि को गृल मा खर्च गरियो एकपटक संगीत सिक्ने कार्यका लागी १ वर्षको रकम खर्च हुनगयो वॉकी प्रत्येक वर्ष रकम कता जान्थ्यो कता ! आउन पनि छाडेछ वडो दुःखका साथ स्रोत जुटाएको थिएँ वालुवामा पानी भएछ दुःख लाग्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्