झापा,पुष ४ । झापाको दमकबाट इलामको चिसापानी हुँदै पाँचथरको रवि जोड्ने फाल्गुनन्द सडक निर्माणमा भएको लापरबाही तथा ढिलासुस्तीको विषयमा सम्बन्धित सरोकारवाला निकायबिच छलफल भएको छ । बजेट पर्याप्त हुँदासमेत निर्माण व्यवसायीको तर्फबाट काममा ढिलासुस्ती भएको छ । निर्माण सुरु भएको तीन दशक कट्दा पनि सडक निर्माण पूरा हुन सकेको छैन । यो तीन दशकमा दमकदेखि घर्ती दोभानसम्म रतुवा खोला नै खोला कुदाउनुपर्ने सवारीसाधन भने सडकको ट्र्याक खुलेपछि सोही ट्र्याकबाट कुदाउन थालिएको छ । दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) कालोपत्रेका लागि ठेक्का लागेको पनि वर्षौं भइसकेको छ । दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर कालोपत्रेका लागि लागेको ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन । इलामको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष एवं सडक निर्माण उपभोक्ता समितिका पदाधिकारी समेत रहेका हेमन्त राईका अनुसार जिल्ला प्रशासन कार्यालय इलाममा सोमबार यस विषयमा गहन छलफल भएको छ । ३३ किलोमिटर सडक ३३ वर्षमा पनि नबन्नु लज्जास्पद विषय हो, उनले भने । कतिपय ठाउँमा बजेट अभावले सडक अलपत्र परेको सुनिन्छ यहाँ बजेट भएर पनि सडक अलपत्र परेको छ, उनले भने । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सरोकारवाला निकाय र निर्माण व्यवसायीलाई समेत बोलाएर छलफल गराएको जानकारी दिए । अब पनि काम नभए जनप्रतिनिधि आफैँ आएर सडकमा आन्दोलन गर्नुपर्ने अवस्था आउने जानकारी गराएको छ, उनको भनाइ छ । कालोपत्रेका लागि निर्माण सम्झौता भएको पाँच वर्षमा आधा पनि काम भएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्