झापा,पुष ४ । हात्ती लामो समयसम्म बसेपछि पूर्वी नेपालका केही स्थानका बासिन्दा रातभर सुत्न पाएका छैनन् । झापासहित मोरङ र सुनसरीमा हात्तीका हुल दिनहुँ देखिँदै आएका छन् । भारतबाट आउने गरेका हुलका हुल हात्ती केही समय नेपाल रहने र त्यसपछि भारत नै फर्कने गरेकोमा यस पटक फर्किएका छैनन् । उनीहरू झापाको जलथलको जङ्गल, चारआलीको जङ्गल, दमकको हम्सेदुम्से सामुदायिक वनको जङ्गलसहित पूर्वी नेपालका विभिन्न जङ्गलमा रहँदै आएका छन् । विशेष गरेर झापाका जङ्गललाई उनीहरूले केन्द्र बनाएका छन् । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार नीति तथा कार्यक्रम बनाउँदा नै ध्यान नदिइएका कारण समस्या आउन थालेको बताए । “समस्या झनै बढ्दै जाने देखिएको छ,” उनले भने । हात्ती प्रभावित क्षेत्रमा कृषि कार्यक्रम नल्याउँदा समस्या विकराल बन्दै गएको जनाए । हात्ती नेपाल आउने र बस्ने मुख्य कारण नै आहारा हो । झापा हात्ती प्रभावित जिल्ला हुँदाहुँदै पनि यहाँ मकै जोन घोषणा गरेर मकै उत्पादन गरिँदै आएको र हात्तीले मकै धेरै रुचाउने भएकाले पनि हात्ती पल्किने गरेका छन् । “झापा गाउँपालिकामा जङ्गल छैन तर पनि हात्ती आउँछन्,” उनले भने, “यहाँ मुख्य गरेर मकै खान पाउने भएकाले हात्ती आएका हुन् ।” धान सुपरजोन भएकाले दुई बाली धान र मकै जोन भएकाले एक बाली मकै लगाइँदा यहाँ हात्तीलाई सजिलो भएको छ । भारतमा आहारा नपाएर उनीहरू यहाँ आएका हुन्छन् । भारतमा हात्ती प्रभावित क्षेत्रमा भने हात्तीले नखाने चिया, मरिचलगायतको व्यावसायिक खेती हुने गरेको छ । मदनभण्डारी मार्गसहित हात्ती आउने परम्परागत बाटामा भएका संरचनाले पनि हात्ती आतङ्क बढेको अध्ययनबाट देखिएको बताउँदै उनले थपे, “हात्ती हिँड्ने बाटोमा पुल र ठुला संरचना बनेपछि विकल्पमा अन्य बाटो रोज्दा पनि बस्तीमा आएर क्षति गर्ने गरेका छन् ।” हात्तीमैत्री संरचना निर्माणमा ध्यान जान नसक्दा समस्या देखिन थालेको वन कार्यालयका कर्मचारीहरूको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्