बिर्तामोड, पुष ४ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आन्दोलन शुरुवात गरेको एक महिना पुग्न लाग्यो । मंसिर ७ मा शुरुवाती दिनमा राजधानी केन्द्रित आन्दोलन सशक्त रहेपनि विभिन्न अप्ठ्याराका कारण विस्तारै आन्दोलन सुस्ताउँदै गयो । आन्दोलन रोकिएपछि महाअभियानका केन्द्रीय संयोजक प्रसाई यतिबेला झापामा छन् । उनले आन्दोलन नसकिएको बताए ।

मंसिर ७ को आन्दोलन कास्टिङ मात्र भएको बताउँदै उनले असली आन्दोलन फागुन १ गते हुने दावी गरे । अभियानद्वारा बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै बीएण्डसी हस्पिटलका संचालकसमेत रहेका प्रसाईले फागुन ७ गतेको आन्दोलन निर्णायक हुने ठोकुवा गरे ।‘फागुन ७ गते राजतन्त्र फर्किन्छ , हिन्दु राष्ट्र कायम हुन्छ , लघुवित्तपीडितको ऋण मिनाहा हुन्छ यो कुरा लेखेर राख्नुस् ’ उनले भने । लघुवित्तपीडितहरुको लागि आन्दोलन शुरु गरेदेखि यता आफ्नो २१ करोड रकम खर्च भइसकेको उनले बताए । हिजो अस्ति आफूलाई बैंक ठग भन्ने राप्रपाका राजेन्द्र लिङ्देनले पनि आफ्नै मुद्धा समाएको उनको दावी थियो ।

अभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , अभियानका केन्द्रीय सचिवालय सदस्य माधव कल्पितलगायतले बोलेका थिए । अभियानका जिल्ला सहसचिव देवेन्द्र सिटौलाले स्वागत गरेको कार्यक्रमको संचालन जिल्ला सचिव हरि सिटौलाले गरेका थिए । कार्यक्रममा अभियानको जिल्ला कमिटी विस्तार गरिएको छ । आफ्नो संयोजकत्वमा गठित कमिटी विस्तार गरिएको जिल्ला संयोजक मैनालीले बताए । कमिटीमा पालिका संयोजकहरु पदेन सदस्य रहेका छन् ।

गौरादह संयोजक गणेश राजवंशी , भद्रपुर संयोजक दुर्गा खरेल , दमक संयोजक विना अधिकारी , शिवसताक्षी संयोजक मिना रावत , गौरीगञ्ज संयोजक प्रेम सुवेदी , कमल संयोजक प्रेम ताजपुरिया ,बिर्तामोड संयोजक ओमप्रकाश लुइटेल , अर्जुनधारा संयोजक सचिन गोले , झापा गाउँपालिका संयोजक गोविन्द फुयल , कचनकवल संयोजक सेर आलम , हल्दिवारी संयोजक रन्जित साहा , बुद्धशान्ति संयोजक रजिन अर्याल,बाह्रदशी संयोजक महादेव राजवंशी , कन्काई संयोजक सन्तोष प्रसाई र मेचीनगर संयोजक श्यामकुमार श्रेष्ठ पदेन सदस्य रहेको जिल्ला संयोजक मैनालीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्