झापा, पुष ६ । ओझेलमा परेको भुटानी शरणार्थीको मुद्धा करिव ४ वर्षपछि फेरि उठान भएको छ ।

मानवअधिकार संजाल झापाले भुटानी शरणार्थी समस्याको दीगो समाधानका लागि सरोकारवाला निकायहरुलाई झकझक्याएको हो । भुटानी शरणार्थी समस्याको दीगो समाधानको उपायका सम्बन्धमा संजालले शुक्रवार बिर्तामोडमा सरोकारवाला निकायहरुको भेला गराएको थियो । भेलामा शरणार्थी समस्या समाधानका लागि पहल गर्न समिति निर्माण भएको छ । मानवअधिकार संजालका अध्यक्ष डा. रुपकप्रसाद खनाल संयोजक रहेको सो समितिमा मानव अधिकारकर्मी विष्णु खरेल ,शरणार्थी सम्बन्धी विज्ञ गोविन्द कोइराला , भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल , नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल , बेलडाँगी शिविरका सचिव सन्चहाङ सुब्बा र पथरी शनिश्चरे शिविरका सचिव करण राई सदस्य रहेका छन् । समितिलाई विस्तार गर्दै लगिने संयोजक डा. खनालले बताए ।

भुटानी शरणार्थी समस्याको दीगो समाधानको उपाय विषयक छलफलका सहभागीहरुले शरणार्थीहरुको समस्याप्रति नजर अन्दाज गर्न नमिल्ने भन्दै यसको दिर्घकालीन समाधान खोजिनु पर्नेमा जोड दिए । तेस्रो देशमा पुनस्र्थापनापश्चात् झापाको बेलडाँगी र मोरङको शनिश्चरे पथरीमा बाँकी रहेका शरणार्थीहरुलाई उचित ढङ्गबाट ब्यवस्थापन गरी भुटानी शरणार्थीहरुको दिर्घकालीन समाधान खोजिनु पर्ने सहभागीहरुले बताएका थिए । सन् २०१९ देखि हालसम्म शरणार्थी शिविरमा बिभिन्न कारणबाट तेस्रो मुलुक जानबाट बञ्चित रहेका भुटानी शरणार्थीहरुको वर्तमान अवस्था अति नै दयनीय छ । उनीहरुलाई कसैले पनि संरक्षण गरेका छैनन् । बिगत लामो समयदेखि शरणार्थी शिविरमा बसोबास गर्दै आएका भुटानीहरुको शरणार्थी परिचयपत्र पनि नवीकरण हुन सकेको छैन भने बिभिन्न कारणबाट नाम दर्ता गर्न छुट भएका शरणार्थीहरुको दर्ता प्रक्रिया नै हुन सकिरहेको छैन ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी , जिल्ला सचिव कृष्ण हुमागाँई , एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष वेदराज रेग्मी , इन्हुरेड इन्टरनेशनलका डा. गोपालकृष्ण शिवाकोटी , नेपाल मानवअधिकार प्रतिष्ठानका पूर्व महासचिव के. पी. सुवेदी , शरणार्थीसम्बन्धी विज्ञ गोविन्द कोइराला ,मानव अधिकारवादी तथा शरणार्थीसम्बन्धी विज्ञ डा. डीएनएस ढकाल , शरणार्थी समन्वय इकाइका प्रमुख तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने , भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल ,नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल , लुथरन विश्व फेडरेसनका यज्ञमूर्ति गौतम , दमक ३ का वडाध्यक्ष नवीन बराल, भुटनीज रिसर्च एण्ड इन्फरमेसन नेटवर्कका अध्यक्ष विश्वनाथ क्षेत्री , शरणार्थी महिला प्रतिनिधि रिन्जिन डेमालगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष डा. खनाल र बेलडाँगी शिविरका सचिव सुब्बाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्