झापा, पुष ७ । झापाको कनकाईमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर शनिबारबाट सुरु भएको छ ।

कनकाई नगरपालिकाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि बन्ध्याकरण शिविर संचालन गरेको हो। तीन दिनसम्म संचालन हुने शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसंगै रेबिजविरुद्वको भ्याक्सिन तथा आवश्यकताअनुसार अन्य औषधि उपचार गरेर छोडिने पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख तेजबहादुर पौडेलले जानकारी दिए ।नेपाल एग्रो लाईभस्टक ट्रेनिङ एन्ड रिसर्च सेन्टर ईटहरी , सुनसरीको प्राविधिक सहयोग रहेको शिविरमा यो पटक २ सयभन्दा बढी कुकुरको बन्ध्याकरण गरिने कनकाईका भेटेरिनरी अधिकृत कुलबहादुर गुरुङले जानकारी दिए ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईमा कुकुरको प्रकोप बढेकाले हरेक वर्ष शिविर संचालन गर्ने गरेको बताए । नगर प्रमुख पोखरेलले सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाईलाई टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरुबाट रेबिजसमेत सर्ने भएकाले समस्या समाधानका लागि शिविर प्रभावकारी रहेको धारणा राखे ।

कनकाई नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएर आएसंगै हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर संचालन गर्दै आएको छ । गएको वर्ष दुई सय २७ भन्दा बढी कुकुरलाई बन्ध्याकरण गरिएको जनाइएको छ ।

कनकाईका भेटेरिनरी अधिकृत गुरुङले छिमेकी पालिकाहरुले पनि हरेक वर्ष अनिवार्यरुपमा शिविर आयोजना गरेमात्रै सामुदायिक कुकुर नियन्त्रण गर्न सकिने बताए । शिविरमा ४ जना डाक्टरसहित १६ जनाको टिम खटिएको छ । शिविर पुष ९ गतेसम्म संचालन हुने कर्मचारी विजय पाठकले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्