बिर्तामोड, पुष ९ । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा एक महिने जुत्ता चप्पल महोत्सव शुरु भएको छ ।


‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही पुष ९ गते सोमवारदेखि माघ ९ गतेसम्म कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव २०८०’ शुरु भएको हो । बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल राखिएको छ । महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु– रोयल फुटवेयर इण्डष्ट्रिज प्रालिको रोयल शुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको उत्पादन बीएफ डियर हील शुज , लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरोड शुज , शुभकामना फुटवेयरको फस्टवाक शुज , स्मार्ट शुज इन्डष्ट्रिज प्रालिको स्मार्ट शुज , डी. जे. शुज कम्पनीको डीजे शुज , एक्सन फुटवेयर कम्पनीको टुरिस्ट शुज र रन शुज इन्डष्ट्रिज प्रालिको रन शुज गरी ८ वटा कम्पनीको १५ भन्दा बढी ब्राण्डहरुको सहभागिता रहेको छ ।मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य , फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा महोत्सवका संयोजक नानीराज घिमिरेको अध्यक्षतामा भएको महोत्सवलाई बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरे । प्रमुख अतिथि संग्रौलाले स्वदेशी उत्पादनलाई टेवा पुर्याउन स्वदेशी कम्पनीहरुले मिलेर संचालन गरेको महोत्सवलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले व्यापार खस्किदै गएको सिटी सेन्टरमा महोत्सवको संचालनले मार्केटको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्वदेशमा उत्पादित जुत्ता चप्पल र स्वदेशी ब्राण्डहरुलाई उपभोक्ताहरुको माझमा पुर्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ देशका प्रमुख शहरहरुमा विभिन्न खालका मेला महोत्सवहरु आयोजना गर्दै आईरहेको कार्यक्रमका अध्यक्ष घिमिरेले जानकारी दिए । नेपाली जुत्ता उद्योगी समूहले यसअघि देशका ६ वटा जुत्ता चप्पल व्यापार महोत्सव सम्पन्न गरिसकेको उनले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले स्वदेशी उत्पादन र कम्पनीलाई माया गर्न सबैलाई आग्रह गरे । त्यस्तै फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष कृष्ण फुयलले महोत्सवमा कम्पनीकै ब्रान्डेड सामान पाइने भएकाले ठगिने समस्या नहुने र भारी छुट पनि पाइने बताए । उनले आफूहरु प्रतिष्पर्धी भएपनि स्वदेशी सामानको प्रवद्र्धन गर्नकै लागि विभिन्न ८ वटा कम्पनीले मिलेर महोत्सव संचालन गरेको बताए ।कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्का , बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली ,सुपारी उत्पादक संघका अध्यक्ष देवी खतिवडा , भेनियर उत्पादक संघका अध्यक्ष दीपक पाण्डे ,नेपाल कुचो उत्पादक संघका वरिष्ठ उपाध्यक्ष खेम पोखरेल , प्लाई उत्पादक संघका महासचिव दिनेश चापागाँईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सिटी सेन्टरका संचालक उमेश राउतले गरेका थिए ।

महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको ब्यवस्था रहेको, महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष तथा रन शुज इन्डष्ट्रिजका प्रवन्ध निर्देशक रुद्र न्यौपानेले बताए । उनले कोशी प्रदेशमा पहिलो पटक जुत्ता महोत्सव आयोजना गरिएको जानकारी दिए । महोत्सवमा एक महिना अवधिभर ३ लाख अवलोकनकर्ताको सहभागिता रहने र करिव ३ करोडको कारोवार गर्ने लक्ष्य राखिएको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए । उनले महोत्सव सम्पन्न भइसकेपछि सिटी सेन्टरमा सबै कम्पनीहरुले संयुक्त रुपमा शोरुम राख्ने जानकारी दिए ।

महोत्सवको पहिलो दिन ग्राहकहरुको भीड लागेको थियो । महोत्सवप्रति उपभोक्ताहरुको चासो देखिएको र आफ्ना कम्पनीको सामान राम्रै बिक्री भइरहेको स्मार्ट शुज इन्डष्ट्रिज प्रालिका संचालक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्