झापा , पुष १० । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले विविध कार्यक्रम गरी २७ औं स्थापना दिवस मनाएको छ ।

जग्गादाता स्वर्गीय रामबाबु प्रसाईको तस्वीरमा माल्यार्पण ,बृक्षरोपण र बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरी समितिले स्थापना दिवस मनाएको हो । हिजो कार्यालयमा आयोजित कार्यक्रममा जग्गादाता स्वर्गीय रामबाबु प्रसाईको तस्वीरमा माल्यार्पण गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । समितिका अध्यक्ष कमलप्रसाद पौडेल , सदस्यहरु पार्वती चुडाल खतिवडा , धर्मप्रसाद बराल , बृन्दा लुइटेल , खगेन्द्र महत्तो , चेतराज भण्डारी ,सदस्य सचिव सिताराम नेपाललगायत कर्मचारी , व्यवसायीहरुले जग्गादाता प्रसाईको तस्वीरमा माल्यार्पण गरेका थिए । प्रसाईले कृषि बजार व्यवस्थापन समिति बिर्तामोडलाई ४ विगाह १ कठ्ठा जग्गा निःशुल्क दान गरेका थिए । सोही जग्गामा बिर्तामोडको कृषि बजार रहेको छ ।

त्यस्तै स्थापना दिवसका अवसरमा बृक्षरोपण गरिएको छ । बजार परिसरभित्र ५ वटा कपुर जातका बिरुवा रोपिएको हो । सोही अवसरमा समितिका पदाधिकारी र सदस्यहरुले बिर्तामोड ४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो घरमा रहेका बृद्धबृद्धालाई फलफूल वितरण गरेका छन् । बृद्धाश्रममा ४५ जना बृद्धबृद्धा आश्रित रहेका छन् । भाषण भूषणभन्दा पनि रचनात्मक कार्य गरी यस वर्ष स्थापना दिवस मनाएको समितिका अध्यक्ष पौडेलले बताए ।

सोही अवसरमा समितिका सदस्य खगेन्द्र महत्तोको ३६ औं जन्मदिन पनि मनाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्