बिर्तामोड, पुष १३ । उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय माछा उपलब्ध गराउने उद्धेश्यले मेची मत्स्य व्यवसायी कृषक संघले खुद्रा बिक्री केन्द्र स्थापना गरेको छ ।

नेपाल मत्स्यपालन किसान संघको अगुवाईमा बिक्री केन्द्र स्थापना गरिएको हो । संघले प्रमुख शहरहरुमा केन्द्र स्थापना गरेर नेपालमा उत्पादित माछा बिक्री गर्ने योजना बनाएको संघका कोशी प्रदेश अध्यक्ष बिष्णुप्रसाद आचार्यले जानकारी दिए ।

संघले बिर्तामोडको भद्रपुर रोडमा पहिलो पटक माछा बिक्री केन्द्र स्थापना गरेको छ । संघका अध्यक्ष लक्ष्मीप्रसाद शिवाकोटीले खुद्रा बिक्री केन्द्र स्थापना गरेका हुन् । बिर्तामोड नगरपालिका–१० मा माछा फर्म सञ्चालन गरिरहेका शिवाकोटीले आफ्नो उत्पादन बिक्रीका लागि बिर्तामोडमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको बताए ।

शिवाकोटीले उपभोक्तालाई स्वच्छ, ताजा र गुणस्तरीय माछा सुलभ मूल्यमा उपलब्ध गराउनका लागि बिक्री केन्द्र स्थापना गरेको बताए । उनले आफ्नो फर्मबाट उत्पादित माछा सो केन्द्रबाट सिधै उपभोक्तालाई उपलब्ध गराउने पनि बताए ।
भारतीय माछाका कारण नेपालमा उत्पादित माछाको बजार सँधै मारमा पर्ने गरेको व्यवसायीको गुनासो छ । भारतीय माछा निर्वाध रुपमा नेपालमा बिक्री हुने क्रम नरोकिएका कारण नेपाली माछा उत्पादक पलायन हुने अवस्थामा रहेको शिवाकोटी बताउँछन् । भारतीय माछाको आयात प्रतिस्थापन गर्दै नेपाली माछाको बजार स्थापित गर्ने संघको योजना रहेको उनको भनाई छ ।

नेपालमा भन्दा भारतीय बजारमा सस्तो मूल्यमा माछा उपलब्ध हुन्छ । नेपालमा पोखरीमा पानीका लागि प्रयोग भएको बिजुली अत्यन्तै महँगो हुन्छ । माछापालन व्यवसायलाई उद्योगका रुपमा राखिएको कारणले बिद्युत महँगो पर्ने गरेको गुनासो कृषकको छ । उनीहरुले बिद्युत उपयोग गर्दा कृषिजन्य उद्योग मानेर सोही अनुसारको शुल्क निर्धारण गर्न पनि माग गरेका छन् ।

माछाका लागि आवश्यक पर्ने दानालगायतमा पनि भारतीय किसानभन्दा नेपाली किसानले महँगो मूल्य खर्च गर्नुपर्ने अवस्था रहेको छ । ‘भारतमा ७० प्रतिशत अनुदान सरकारले उपलब्ध गराउँछ, शिवाकोटीले भने–‘नेपालमा अनुदान त छ, तर, वास्तविक माछा व्यवसायीले त्यो अनुदान पाउन सकेका छैनन्, त्यसकारण यहाँको उत्पादनमा लागत बढी हुन्छ ।’
नेपाली माछापालक किसानलाई माछा बिक्रेता व्यवसायीबाट पनि असहयोग हुने गरेको गुनासो शिवाकोटीले गरेका छन् । धेरै मुनाफा आउने कारणले माछा बिक्रेताले भारतीय उत्पादन नै बिक्री गर्ने गरेको उनको भनाई छ । भारतीय माछामात्र बजारमा बिक्री गर्ने गरेका कारण नेपाली उत्पादनले बजार नपाउने गरेको हो ।

चोरी तस्करी भएर आउने माछा नियन्त्रणमा लिनसके नेपाली उत्पादनले बजार पाउने आशा उनीहरुको छ । नेपालमा उत्पादित माछा बिक्री गर्न बिक्रेताले नचाहेपछि आफै बिक्री केन्द्र खोलेर बिक्री सुरु गर्न थालेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्