रमेश नेपाल,
बा शब्द आफैँमा अर्थपूर्ण शब्द हो । संसारको हरेक कुनामा गएर खोज्दा बाको अर्थ एउटा सिङ्गो अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ । अन्धकाररुपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गुरु, घरको जग, परिवारको उज्यालो, संसारको आठौँ आश्चर्य, सन्तानको हिम्मत ,सन्तानको सुरक्षाकवच, सन्तानको सहारा, सन्तानको पहिलो मार्गदर्शक, संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति, आमाको अभिमान र स्वाभिमान, सन्तानको सपनालाई पुरा गर्ने, सन्तानको जिम्मेवारी आफ्नो थाकेको काँधमा सजाउने, आफ्नो परिवारको लागि आफैलाई आफैले पर कतै लगेर बेचिदिने व्यापारी, जसलाई दिन मात्र आउँछ सन्तानबाट कहिल्यै लिन आउँदैन । जीवनको कुनै मोडमा ‘म’ मेरा लागि ‘मैले विश्राम लिनुपर्छ’ भन्नसम्म नरुचाउने परिश्रमी, सन्तानको आदर्श, पथ–प्रदर्शक, प्रगतिको कारक, हौसलाको स्रोत र आमाको सौभाग्य, सृष्टिको पहरेदार, सन्तानको रक्षक, पालनकर्ता, जन्म कर्म दिने र संसार चिनाउने व्यक्तिलाई बाको रूपमा परिभाषित गरिन्छ ।

पहिलो अंकमा मैले बा शब्द के हो,बा बन्न किन कठिन छ भन्ने बारेमा उल्लेख गर्दै मैले मेरा बाको बारेमा बाको जन्मदेखि विवाहसम्मका संघर्षहरुको वृतान्त लेखेको थिएँ । दोस्रो अंकमा मैले बाको विवाहपश्चात् म जन्मिँदासम्मको नालीबेली र घरमा छोरा बिरामी भएर सिकिस्त हुँदासम्म कुनै पनि आफन्तले सहयोग नगरेको र आफू एक्लैको प्रयासमा छोराको उपचार गरेर छोरालाई बचाएका मेरा बाको कथा र ब्यथालाई समेटेको थिएँ । तेस्रो अंकमा मैले मेरा बाको खुशीहरु क्षणिक थिए,अनि बाको कठोर बिराम जसले बालाई मृत्युको मुखसम्म पुर्याएको र ३० बर्षदेखि बस्दै आएको ठाउँबाट बसाई सरि अर्कै ठाउँमा गएर बसेको यथार्थलाई उजागर गरेको थिएँ । आज भने बाको अन्तिम भोगाईको वृतान्त लिएर आएको छु ।

२०५५ सालमा बसोबास गर्दै गरेको स्थान ज्यामिरगढी छोडेर हाल बसोबास रहेको शनिश्चरे बसाई सरेर आयौँ ।म भने कक्षा १० मा पढ्थे ।आफ्नो कुनै जग्गा थिएन । त्यहाँ पनि उनै केशबकुमार बुढाथोकीको जग्गामा झुप्रो हालेर बसेका थियौँ । म भने उनै केशबकुमार बुढाथोकीको घरमा बसेर कक्षा १० अध्ययन गरेको थिएँ ।त्यो बखतको पीडा सुनाई सक्नु छैन मेरो पनि । अर्काको घरमा बसेर पढ्दाको पीडा सायद भोग्नेलाई मात्र थाहा हुन्छ होला । दाजु भने एसएलसी दिएपछि कामको सिलिसलामा धरान गयो ।धरानमा गएर “राम निवास बनवरिलाल“भन्ने पसलमा महिनाको रु १८ सयमा काम गर्न थाल्यो । बाको अब भने बोली स्पष्ट खुलिसकेको थियो ।तर, बाको पहिलेको बिराम ठिक भएको थिएन । दाजुले कमाएको पैसाबाट घर चलेको थियो । दिदी केशबकुमारकै घरमा खाना पकाउँथिइन् ।भाइ र दुई बहिनी सानै थिए ।दाजुले त्यो बिरानो शहरमा एक्लै कसरी दुःख गर्यो होला ?आफू नखाएर पनि परिवारको जिम्मेवारी बहन गरेको थियो । त्यसैले त भनिएको थियो होला– बापछिको दाजु भनेर ।

समय बित्दै गयो, बाको बिराम केही मात्रामा मत्थर हुँदै गयो ।सायद ज्यामिरगढी हामीलाई नफापेको हुनु पर्छ । अब भने बाले फेरि खेती किसान शुरु गर्नु भयो ।शनिश्चरेमै बुढाथोकी परिवारको जग्गा अधिया कमाउन थाल्नु भयो । मैले पनि एसएलसी पास गरेँ । दाजुले पनि एसएलसी पास त गरेको थियो । तर, उसले पढ्न पाएन ।परिवारको जिम्मेवारी आफ्नो काँधमा आईपरेर उसले पढाइ छोडेको थियो । मैले पनि कलेज नपढ्ने निर्णय गरेँ । किनकि मैले बुढाथोकीको घर छोडिसकेको थिएँ ।मलाई सानैदेखि अरुको दबाब र हेपाई मन पर्दैन थियो । सायद त्यसैले होला मैले उनीहरुको हेपाहा प्रवृतिको बिरोध गरेर एसएलसीको रिजल्टअगावै उनीहरुको घर छाडेको थिएँ । मेरो नपढ्ने निर्णयले बालाई दुखित तुल्यायो । ‘दाजुले पनि पढ्न पाएन तँ पनि पढ्दिन भन्छस्,मैले तिमीहरुलाई पढाउन पाईनँ’ भन्दै भक्कानिनु भयो ।मलाई पनि पढ्न मन नलागेको त कहाँ हो र ! तर पनि, मेरो एड्मिसन गर्ने पैसा कहाँबाट ल्याउने? मासिक फी कसरी तिर्ने? किताब कापी कसरी किन्ने ?त्यो सोचले मैले नपढ्ने निर्णय गर्नुपरेको थियो ।तर, बाले जसैगरी पढाउने निर्णय गर्नु भयो र छिमेकी चन्द्र सुवेदीको १० कट्ठा जग्गा जोत्ने ठेक्का लिनु भयो रु १२ सयमा र त्यही पैसाले मलाई शनिश्चरे उच्च मा. वि.मा भर्ना गरिदिनु भयो ।त्यही पैसाबाट कलेजको ड्रेस किन्दिनु भयो र म कलेज जान थालेँ ।

बासँगको अन्तिम दशै

कलेज जाँदै बालाई खेतीको काममा सघाउँन थालेँ मैले ।खेती गराई त उहीँ पारा थियो । बर्षभरि दुःख गर्यो, सबै महाजनलाई बुझाउँदै ठिक्क ।बाको बिराम ५० प्रतिशत मात्र ठिक भएकोले गर्दा होला, कहिलेकाहीँ बाले सारै झगडा गर्नु हुन्थ्यो घरमा । म लगभग ६–७ महिना कलेज गएँ । त्यसपछि पूर्णरुपले कलेज नपढ्ने निर्णय गरेँ ।दाजुको दुःख र बाको दुःखलाई केही कम गर्न मैले पढाइ छोडेर कामको खोजी गर्न थालेँ ।शुरुमा बुढाथोकी परिवारमा गएर कतै जागिरमा लगाईदिन आग्रह गरेँ तर, उनीहरुले जागिर खानुभन्दा उनीहरुकै खेतीमा सब्जी खेती गर्न सल्लाह दिएपछि अब उप्रान्त कहिले पनि जागिरको लागि उनीहरुलाई नभन्ने निर्णयका साथ आफै बिर्तामोडमा गएर काम खोजेर गर्न थालेँ ।सोभन्दा अघि मैले एसएलसी दिएर केहि महिना एक पसलमा काम गरेको थिएँ ।मलाई त्यो बखत नाताले भतिज पर्ने गोबिन्द नेपालले आफ्नो स्थानमा मलाई राखिदिएका थिए ।त्यो गुण म सँधै सम्झने छु ।अप्ठ्यारोमा जसले साथ दिन्छ, त्यो सँधै महान हुन्छ भन्नु हुन्थ्यो बाले ।

मैले पनि जागिर खान थालेपछि हाम्रोमा अब भने निकै सहज हुन थालेको थियो । दाजुभाईको कमाईले घरपरिवार धान्न कुनै गाह्रो थिएन ।दिदीले विवाह गरिसकेकी थिइन् भने २०५९ सालमा दाजुले पनि स्थानीय ठाउँकै अधिकारीको छोरीसँग लभम्यारिज गरेको थियो ।दुबै छोराले रोजगारी पाएपछि बाको तनाव घटेको थियो ।बालाई हामीले अब खेती गर्न दिएका थिएनौ । बाले धेरै दुःख गर्नु भयो ,अब छोराहरुको पालो भनेका थियौँ । तर, बाको मन कहाँ मान्थ्यो ! केही न केही त गरिरहनु हुन्थ्यो । अब भने हाम्रो घरमा भाईले पनि कमाउन थालेको थियो । भाईले पढाइ बेलैमा छोड्यो र प्लम्बर गर्न थाल्यो । २ जनाबाट अब कमाउने ३ जना भएपछि हामीले जीवनमा पहिलो पटक १ कट्ठा भिट्टा किन्यौ । तर, घर बनाउन चाहिँ सकेका थिएनौ । २०६२मा मैले पनि विवाह गरेँ ।मैले बिहे गरेको केही महिनामा दाजु र भाइ बैदेशिक रोजगारीको लागि कतार गए । म भने बिर्तामोडमै कुनै प्राईभेट फर्ममा काम गरिरहेँ । मेरो विवाहपश्चात् १ छोरा र १ छोरी भए । अब बाको काम तिनै नाति नातिना खेलाउनैमा बित्न थाले ।

भनिन्छ नि ‘साउँको भन्दा ब्याजको माया’ भनेझै बाले नै हुर्काउनु भयो मेरो २ सन्तान अनि दाजुको १ सन्तान । नाति नातिना भनेपछि औधि माया गर्ने मेरा बाको रोग पूर्णरुपले ठिक भैसकेको थियो ।दाजु र भाईले पठाएको पैसा जम्मा गरेर घर बनाईयो भने मैले कमाएको पैसाले घरपरिवार धानिन्थ्यो । २०६८ सालमा भाईको पनि बिहे गरेपश्चात् बा सारै खुशी हुनु भयो ।मैले जति दुःख भोगे पनि मेरा सन्तानलाई कहिल्यै दुःख नपरोस् भन्नु हुन्थ्यो बा । बाले हामीलाई सिकाउनु भएको कुरालाई अहिले पनि स्मरण छ मलाई “छोरा पुगेन भने माग्नु तर लामो हात कहिले नगर्नु ।” सायद बाको त्यो बाणीलाई शिरोधार्य गरेर होला हामी सन्तानले कहिले पनि लामो हात गर्न जानेनौँ ।

बाप्रति छोराको कर्तब्य हामी सबैले निभाएका थियौ । भाईको विवाहसँगै हामी तीनै भाइ अलगअलग बस्न थाल्यौ ।दाजुभाईको जात सँधै एकै ठाउँ बसिरहन पनि सकिँदो रहेनछ ।मैले अर्काको पसल छाडेर आफै पसल गर्न थालिसकेको थिएँ ।दाजुले पनि बिदेश छाडेर यतै पसल गर्न थाल्यो ।बुवा आमासँग भाइ बस्थ्यो ।भाइ भने बिदेशमै थियो ।हामी तीनै जनाले आ–आफ्नो भिटा किनिसकेका थियौ ।छोराहरुको प्रगतिले बामा उमंग छाएको थियो ।बाको रोग पूर्णरुपमा ठिक भएको थियो । जिन्दगीभरि दुःख मात्र गरेका बालाई अब सुख दिने अवस्थामा थियौ हामी । २०७५ साल पुषमा मैले घर बनाउन शुरु गरेँ।मैले घर बनाउन थाल्दा बा जति खुशी हुनुहुन्थ्यो, त्यो खुशी बाको मुहारमा कहिल्यै देखेको थिईनँ मैले ।त्यो घरमा सम्पूर्ण रेखदेख बाले गर्नु भएको थियो ।कतिपय काममा त आफै खट्नु हुन्थ्यो ।मेरो छोराले दुःखले कमाएको छ भन्दै एउटा काँटी पनि खेर जान दिनु हुन्नथ्यो ।मैले पनि मिस्त्रीहरुलाई बाले जे भन्नु हुन्छ, त्यही गर्नु मलाई सोध्नु पर्दैन, बालाई सोध्नु भनेको थिएँ ।घर निर्माण सकियो २०७६ असार २५ मा । म नयाँ घरमा सरेँ ।बालाई अघि लगाएर गृह प्रवेश गरियो ।बा अत्यन्तै खुशी हुनुहुन्थ्यो ।

बा भन्नु हुन्थ्यो“ अब चाहिँ म मरिहाले पनि सुखले सास जान्छ ,म मरे भने तेरै घरको कुनामा आएर म तिमीहरुको रक्षा गर्छु । तिमीहरुले मेरो कारण सानामा निकै दुःख पायौ,तिमीहरुले भोगेको दुःख मेरा नाति नातिनाले भोग्नु नपरोस् ।” बाको यो भनाई सँधै स्मरणमा रहने छ । हामी घर सरेको केही दिनपछि बालाई खाना खाँदा अड्किएछ ।बालाई खाना निल्न निकै कठिन परेछ ।भोलिपल्ट पनि त्यही समस्या भएपछि आमाले छोराहरुलाई भन्नु पर्छ भन्दा बाले रिसाएर छोराहरुलाई टेन्सन न दे भनेर कराउनु भएछ ।भाई बिदेश थियो ।दाजु अलग्गै बसेको घरमा बा,आमा,कान्छी बुहारी सानो छोरा र कान्छी बहिनी थिए ।तेस्रो दिन पनि बालाई खाना अड्किएपछि आमाले हामीलाई सुनाउनु भयो । तत्पश्चात् दाजुले बुवालाई लिएर निलकण्ठ डाईगोनिष्टमा गयो ।त्यहाँ डाक्टर दिपेन्द्र ओलीले चेकजाँच गरेका थिए बालाई ।त्यो दिन ब्लड चेक गरेर भोलि आउने र ईन्डोस्कोपी गर्नु पर्ने डाक्टरको सल्लाह बमोजिम घर गईयो र भोलिपल्ट फेरि दाजुले बालाई डाक्टरकोमा लिएर गयो । म पनि गएँ ।बाको ईन्डोस्कोपी गर्दा मैले पनि हेरेँ बाको अन्ननलीमा घाउ जस्तो देखियो ।डाक्टरले त्यहाँबाट केहि मासुका टुक्रा निकाले अनि बालाई बाहिर पुर्याएर मलाई भित्र आउनु भन्नु भयो डाक्टरले । बालाई बाहिर पुर्याएर म डाक्टरको रुममा गएँ । डाक्टरले बाको घाउ क्यान्सर हो भन्ने संकेत गर्नु भयो ।उहाँको क्यान्सर सायद लास्ट स्टेजको हुन सक्ने भन्दै भरतपुर या काठमान्डु लिएर जान सल्लाह दिनु भयो । म भित्रै रोएँ ।अब बाहिर आएर बाको अनुहार हेर्ने हिम्मत गर्न सकिनँ । तर पनि, मन दह्रो बनाएर बालाई लिएर ट्याक्सी चढाउन आएँ ।बाले के भा र छ मलाई भन्दै सोध्नु भयो । मैले मन थामेर बालाई तपाईको ग्याष्टिक बिग्रिएछ भन्ने जवाफ दिएँ ।बालाई ट्याक्सी चढाएपछि मैले दाजुलाई कल गरेर रुँदै बालाई अन्ननलीको क्यान्सर भएछ भनेर सुनाएँ । त्यो बाहेक बढी बोल्नै सकिनँ ।दाजुलाई सुनाउन उसको पसल गएँ । त्यहाँ दाजु भाइ रोएरै बस्यौ ।मैले घरमा श्रीमतीलाई पनि सुनाएँ ।

अब भने हामी सपरिवारलाई न त भोक, न त निन्द्रा । हाम्रो दिन रात रोएरै बित्न थाले ।बालाई अब हामी दाजुभाइ पसलको सामान लिन काठमान्डु जाने बा तपाईं पनि जौँ है ग्याष्टिक बिग्रिएछ भन्यौ ।तर, हजुर बाको श्राद्ध साउन ५गते छ, अनि मात्र जाउँ भन्नु भयो बाले । हामीले हुन्छ भन्यौ र २०७६साल साउन ६ गते काठमान्डु जाने निर्णय भयो । बाले आमालाई पनि लिएर जाने ईच्छा प्रकट गर्नु भएकाले हामीले आमालाई पनि प्लेन चढाउने निर्णय गरेर आमालाई पनि लग्यौ ।काठमान्डुमा हामीले बालाई हात्तिबनस्थित नेपाल क्यान्सर हस्पिटलमा देखायौ ।त्यहाँ बाको परीक्षण गरायौँ ।हामी कामना गरिरहेका थियौ कि बाको रिपोर्ट सकारात्मक आओस् भनेर ।तर, हाम्रो प्रार्थना काम लागेन ।बालाई अन्ननलीमा क्यान्सर भएको पुष्टि गर्यो त्यो पनि लाष्ट स्टेज ।त्यहाँ डाक्टरले बाको उपचार अब असम्भव छ,बाको आयु अब ८ महिनादेखि एक बर्षसम्म मात्र छ ,बालाई राम्रो ख्याल गर्नु अब घरै लग्नु भनि डाक्टरले सुझाएका थिए ।त्यहाँ पनि बालाई हामीले ढाट्यौ– ठिक हुन्छ रे भनेर । तर हामी दाजुभाइ रोईरहेका थियौ ।बाको अगाडि रुन्चे हाँसो मात्र थियो हाम्रो ।

हामी काठमाण्डुबाट फर्किसकेका थियौँ ।बालाई हेर्दा बिरामी जस्तो देखिदैन थियो ।हट्टाकट्टा हुनुहुन्थ्यो ।कुनै दुखाई थिएन ।खाना निल्न भने केही असहज थियो । बुवा बिरामी हुनुहुन्छ भन्दा कसैले पत्याउँदैन थियो ।हामी बालाई हेरेर सँधै रोईरहेका हुन्थ्यौँ ।अब भने सँधै बाको साथमा हुन्थ्यौ हामी । पसलबाट घर जानेबित्तिकै बा भए ठाउँ जान्थ्यौ ।बाले नदेख्ने गरी रोईरहेका हुन्थ्यौ । कहिलेकाहीँ बालाई रोगले धेरै सताउँथियो । रुवाबासी हुन्थ्यो । फेरि कहिले ठिक हुन्थ्यो बालाई ।एवम् रितले चलिरहेको थियो । २०७६ फाल्गुन १९ गते कान्छी बहिनीको विवाहको दिन थियो । बालाई कान्छीको विवाह गरिदिने ईच्छा बमोजिम कान्छीको विवाह सम्पन्न भएको थियो ।सोही दिन बेलुका बाले जीवनमा अन्तिम पटक खाना खानु भएको थियो ।त्यही दिन राति बालाई ब्यथाले निकै च्याप्यो । अब बाले पानीबाहेक केही निल्न छाडिसक्नु भएको थियो ।अब भने बाले पानी र जुस मात्र पिउनु हुन्थ्यो । अब चाहिँ बा ओछ्यान पर्नु भएको थियो ।२०७६ चैत्र ५ गतेदेखि बाले पानी पनि पिउन छाड्नु भयो । बोल्न चाहिँ अलि अलि बोल्नु हुन्थ्यो । बालाई हामीले घरैमा सलाईनबाट पानी दिएका थियौ ।लगभग १ हप्तासम्म सलाईन बाको शरीरले लिएको थियो ।

२०७६ साल चैत्र ११ गतेबाट कोरोनाको कारण नेपालमा लकडाउन शुरु भएको थियो । सो दिन बालाई अन्तिम पटक सलाईन लगाईएको थियो ।१२ गते बाको शरीरले सलाईन लिन छाडेको थियो र बाको बोली पूर्ण रुपमा बन्द भएको थियो । टुलुटुलु हेर्नु मात्र हुन्थ्यो ।भाइ र दिदीबाहेक हामी सपरिवार बाको साथमै थियौँ ।हामी सबैको खानपिन बन्द भएको थियो । हाम्रो रुँदारुँदै आँशु सकिएको थियो ।चैत्र १२ गते बिहानैबाट बाले यताउता आँखा डुलाईरहनु भएको थियो ।सायद बाले कान्छा छोरालाई खोजिरहेको भान हुन्थ्यो हामीलाई । कोही आउँदा जुरुक्क उठ्न खोजेर केही भन्न खोजेजस्तो गर्नु हुन्थ्यो ।बाको त्यस्तो ईच्छा देखेर दाजुले सोध्यो बालाई । बुवा भाईलाई खोज्नु भा हो ? भनेर सोध्यो अनि बाले मुन्टो हल्लाएर अँ भन्नु भयो अनि दाजुले बालाई बुवा भाइ आउन सक्दैन, प्लेन सबै बन्द छ बाहिर कतै जान मिल्दैन लकडाउन छ भनेर भन्यो । बुवाले आँखाभरि आँशु पारेर हुन्छ भन्ने संकेत गर्नु भयो ।

यति दिनसम्म बालाई क्यान्सर छ भन्ने लुकाएका थियौ, हामीले अब भने बालाई सबै कुरा सुनायौँ हामीले ।बा तपाईंलाई क्यान्सर भएको थियो ,तपाईँको उपचार सम्भव थिएन त्यसैले हामीले तपाईको उपचार गर्न सकेनौ बा हामीलाई माफ गर्नु होला भनेर भनेपछि बाले ल भन्ने संकेत गर्नु भयो र त्यसको केही मिनेटपश्चात् अर्थात २०७६ साल चैत्र १३ गते बेलुका ५ः२७मा बाले हामीलाई सँधैको लागि छाडेर जानु भयो । हामीले चाहेर पनि बालाई बचाउन सकेनौ । हाम्रो संसार उजाडिएको थियो ।२००६ साल चैत्र १ गते जन्मिएर सँधै दुःख र संघर्ष गरेका मेरा बा २०७६ चैत्र १३ गते आफ्नो सबै सन्तानलाई एक्लै पारेर सँधैको लागि अस्ताउनु भयो ।

मेरा बाले जीवनमा कहिल्यै सुख पाउनु भएन ।अब सुख शुरु हुँदै थिए , छोराहरुले बालाई खुशी राख्न खोजिरहेका बेला बाले संसार छोड्नु भयो अर्थात दुःखबाट पार पाउनु भयो । बा बितेदेखि मेरो जीवनमा खुशी हराएका छन् ।बाले राखेको एकता हाम्रो परिवारमा टुटेको छ ।दाजुभाइबिचको सम्बन्धमा दरार आएको छ ।बाले जे कुरा कहिल्यै नहोस् भन्ने चाहनु भएको थियो, ठिक बिपरित भएको छ । बाप्रति सँधै समर्पित रहने छु म । बाको मृत्युपश्चात् नितान्त एक्लो महसुस गरेको छु । बा तपाईं जहाँ भए पनि तपाईले दिएको मार्गदर्शनलाई सँधै पछ्याईरहन सकुँ । अलबिदा बा !!

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्