बिर्तामोड, पुष १४ । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले उम्मेदवारी दिने भएका छन् ।


निर्वाचनको मिति नजिकिंदै गइरहेका बेला व्यवसायी खत्रीले सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । व्यवसायी खत्रीले स्वतन्त्र रुपमा सदस्यमा उम्मेदवारी दिने बताए । आफलेू बिर्तामोडमा वर्षौंदेखि ढुवानी व्यवसाय संचालन गर्दै आएको भन्दै उनले यस क्षेत्रको प्रतिनिधित्व हुनेगरी वाणिज्य संघको निर्वाचनमा उठ्न लागेको जानकारी दिए ।

सदस्यमा आफ्नो जीत सुनिश्चित रहेको भन्दै खत्रीले यस पटक व्यवसायी र बजारको हित हुनेगरी काम गर्नसक्ने क्षमतावान उम्मेद्वारलाई भोट दिन सबैलाई आग्रह गरेका छन् ।यसअघि वाणिज्य संघमा चुनाव जितेर नेतृत्वमा आउनेहरुले व्यवसायीको हितमा कुनै पनि काम नगरेको व्यवसायी खत्रीको गुनासो छ ।

ढुवानी क्षेत्रका अर्का व्यवसायी हेमराज अधिकारीले वाणिज्य संघको निर्वाचनमा खत्रीलाई सबैको साथ सहयोग रहेको बताए । उनले ढुवानी व्यवसायीको प्रतिनिधिका रुपमा खत्रीलाई अघि बढाइएको बताए । व्यवसायी खत्री व्यावसायिकसंगै सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएसंगै चुनावी गतिविधि बढेको छ । संघका वर्तमान महासचिव अर्जुनकुमार मैनाली अध्यक्ष पदमा औपचारिक उम्मेदवार घोषणा भएपछि चुनावी मैदानमा छन् । त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले पनि अध्यक्षमा उठ्ने तयारी गरिरहेका छन् । वाणिज्य संघको निर्वाचन फागुन १४ गते तय गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्