बिर्तामोड, पुष १६ । गुरुङ समुदायको महान पर्व तमु ल्होसार झापाको बिर्तामोडमा पनि मनाइएको छ ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर इकाई समितिको आयोजनामा बिर्तामोड–१० सैनिकबजारस्थित धर्मचक्र बौद्ध गुम्बा परिसरमा तमु ल्होसार भव्यताका साथ मनाइएको हो ।

तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर इकाई समितिका अध्यक्ष सलबहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमलाई प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदका पूर्व केन्द्रीय सदस्य तथा मेची आँखा अस्पताल बिर्तामोडका अध्यक्ष जलकुमार गुरुङ, परिषदका पूर्व झापा जिल्ला अध्यक्ष आनन्द गुरुङ, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड–१०का वडाध्यक्ष दुर्योधन गुरुङ, बिर्तामोड–६का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नेकपा एमाले बितामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कलाकारहरुले गुरुङ संस्कृति झल्कने गीत नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै मनोरञ्जनात्मक खेलकुद कार्यक्रमहरु पनि संचालन गरिएको थियो । कार्यक्रममा बिर्तामोड वडा नम्बर ३ मा निर्माणाधिन तमु संग्रहालयका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन परिषदका नगर सचिव लिला गुरुङ र के.वी. गुरुङले गरेका थिए । हरेक पुष महिनाको १५ गते गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्