बिर्तामोड,पुष १६ । झापाको बिर्तामोड १ स्थित चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलका विद्यार्थीहरुले प्रस्तुत गरेको कविता सुनेर अतिथि र सहभागीहरु छक्क परे ।

विद्यार्थीहरुमा साहित्यप्रतिको प्रतिभालाई विद्यालयले निखारेकोमा अभिभावकहरु पनि हर्षित देखिए । चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलले सिइएस कवि सम्मेलन २०८० आयोजना गरेको थियो । जहाँ विद्यार्थीहरुले गहकिला कविता वाचन गरेका थिए ।

आइतबार कविता वाचन तथा लेखन प्रतियोगिताको आयोजना गरिएको थियो भने सोमबार समापनमा पुरस्कार वितरण तथा कवि सुदेश सत्यालद्वारा कविता प्रस्तुत गरिएको थियो ।


‘आफ्नो भाषा , साहित्य, कला र संस्कृतिको संवर्द्धन गरौं’ भन्ने मुल नाराका साथ बिगत तीन बर्षदेखि विद्यालयले कवि सम्मेलन गर्दै आएको विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाले जानकारी दिए ।

उनले विद्यार्थीलाई पढाइको अलावा अतिरिक्त क्रियाकलापअन्तर्गत साहित्यप्रति रुचि र जागरुक गराउन कार्यक्रम आयोजना गरिएको बताए । कवियित्री लिला अनमोलको संयोजन तथा विद्यालयका बाल क्लब अध्यक्ष जस्मिन चौहानको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा अधिकारी तिलचन भण्डारी, शिक्षा अधिकृत केशरबहादुर खवास, विद्यालयका अतिरिक्त क्रियाकलापका शिक्षक दिपक रायमाझी, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशब भट्टराई, साहित्यकारहरु तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देललगायतले शुभकामना मन्तव्य राख्दै चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलले आफ्ना विद्यार्थीहरुमा साहित्यप्रति गरेको विकासको प्रशंसा गरेका थिए ।

विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा सिनियरतर्फ गरिमा धमला प्रथम, अन्जली न्यौपाने दोस्रो र दिया पौडेल तेस्रो भएका थिए। त्यस्तै जुनियरतर्फ हिमालरत्न प्रसाई प्रथम, तृसना प्रधान दोस्रो र आलोक लुइटेल तेस्रो भएको विद्यालयका अतिरिक्त क्रियाकलापका कोअर्डिनेटर दिनेशराज शर्माले जानकारी दिए । प्रतियोगितामा बिजेता विद्यार्थीहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल सुब्बाका अनुसार विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत आर्ट,थिएटर,उद्घोषण,ब्यक्तित्व विकास, मोडलिङ, हस्तलेखनलगायतका कक्षा सञ्चालन गरिरहेको छ । अघिल्लो वर्ष विद्यालयले कवि नवराज पराजुलीलाई ल्याएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्