प्राकृतिक वनको पुनःस्थापना, वासस्थान सुधार, राहत मूल्यांकन न्यायपूर्ण र वितरणमा छरितोपना, अन्तरसीमा सहकार्य, हात्तीको गतिविधिको अनुगमन र सूचना आदानप्रदान, हात्तीका आनीबानीबारे जनचेतना, प्राविधिक जनशक्ति निर्माण, तारबारको चुस्त मर्मत सम्भारको व्यवस्था जस्ता अल्पकालीन समस्या समाधान र दीर्घकालीन सह अस्तित्व निर्माण गर्ने कार्यहरु एकीकृत रुपमा संचालन गर्न सकेमा मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा योगदान पुग्न सक्छ ।
डा. लिलानाथ शर्मा, मुना भट्टराई,
२०८० मंसिर र पौष महिनामात्र झापा र मोरङ जिल्लामा हात्तीको आक्रमणमा परी छ जनाको ज्यान गयो । जलथल जंगलको वरिपरि गत एक वर्षमा हात्तीको आक्रमणमा परी तीन जनाको मृत्यु भयो भने सोही क्षेत्रमा नै हात्ती पनि तीनवटै मरे वा मारिए । एक जना हात्ती आक्रमणबाट गम्भीर घाइते हुन पुगे ।घर, गोठ र बालीनाली क्षतिको त फेहरिस्त निकै लामो छ ।
हात्तीले मारेका मानिसको शव विक्षिप्त बनाउने खालका थिए।दुई वटा घटनामा त हात्तीको मृत्युको केही दिनलगतै मानिसलाई आक्रमण गरेको छ । यो घटना संयोगमात्र हुन पनि सक्ला वा आतंकित हात्तीको प्रतिक्रिया पो हो कि ?शवको प्रकृति र आक्रमणमा पर्नेहरुको कुरा सुन्दा दोस्रो कुरालाई बल दिन्छ र हात्तीहरु बढी नै आतंकित वा उत्तेजित भएका हुन् कि भन्ने कुरा अनुमान लगाउन सकिन्छ ।
पूर्वी नेपाल विशेष गरी झापामा स्थानीयहरु हात्तीबाट आक्रान्त छन् । विगत ५ वर्षदेखि जलथल वन केन्द्रित काम गर्दा हामीले स्थानीयहरुका हैरानी प्रत्यक्ष देखेका छौँ, पीडा महसुस गरेका छौँ। हात्तीले घर गोठ क्षति पुर्याउने, खेतबारी र भकारी दुवै ठाउँको अन्नबाली नष्ट गर्ने गरेको छ । साँझविहान बाहिर निस्किन र आवागमन गर्न डरलाग्दो अवस्था छ भने कमजोर घरमा कहिलेकाहीँ त सुतेको ठाउँ वरिपरी हात्तीको सुड नै आइपुग्छ ।विहान सबेरै उठेर विद्यालय जानेहरु त्रसित छन् ।जंगल वरिपरी र कमजोर बनावटका घरमा बस्नेहरु हात्तीले कतिबेला घर भत्काउन आउने हो भनेर भयभित रात बिताउन बाध्य छन् ।
एकातर्फ हात्तीको आतंक छ भने अर्कोतर्फ लामो र झन्झटिलो क्षतिपूर्तिले स्थानीयलाई हैरानी मात्र थपेको छैन,यसले हात्ती संरक्षण प्रतिको उत्तरदायित्व समेत कमजोर बनाएको छ । हात्तीले घर र खेतीमा गर्ने सम्भावित क्षति र डरको कारणले स्थानीयहरुले हात्ती धपाउन राँको बाल्ने, चर्को माइक बजाउने, ट्«याक्टर वा जेसीबी चलाउने गर्दछन् ।हात्तीको नजिकै गएर होहल्ला र भीड,ढुंगामुडा र आक्रमण गर्दा हात्ती समूहबाट एक्लिने , झनै त्रसित हुने र क्षति बढ्ने हुन्छ ।एकातर्फ स्थानीयबासीहरु हात्तीको गतिविधिदेखि पीडित छन् भने अर्कोतर्फ स्वतन्त्र प्राणी हात्ती पनि मानव गतिविधिदेखि उत्ति नै पीडित छन् । अन्नबाली, घर तथा गोठ जोगाउनको लागि खेतबारी तथा घरवरपर जडान गरिएको विद्युुतीय नाङ्गो तारले हात्तीको विचरणलाई अझै जोखिममा पारेको छ ।
पछिल्ला दुई दशकमा हात्तीको गतिविधि बढेको भन्ने कुरामा स्थानीयहरुको मत मिल्छ ।बस्ती र खेतीवालीमा हात्तीको गतिविधि र क्षति बढ्दो छ । भद्रपुर नगरपालिकाको पृथ्वीनगरमा हात्ती हिडेको बाटोमा पूजा गर्ने र हात्तीको पाइला–पाइलामा मिठाइ राख्ने गरेको सम्झिने प्रशस्तै भेटिन्छन ।मानव– हात्ती द्वन्द्व वा असमझदारी बढ्नुमा हात्तीको बासस्थान अतिक्रमित हुनु र वन विनाश भएको कुरामा निकै चर्चा हुने गरेको छ । तर हात्तीको विचरण क्षेत्रमा भएको वनको अवस्था बारेमा ध्यान पुगेको देखिदैन । वनको अवस्था बारेमा हामीले केही तथ्यहरु नजरअन्दाज गरेका छौं । हेरौं केहि दृश्यहरुः
झापामा प्राकृतिक जंगल विकास गर्न सकिने दर्जनौ स्थानहरुमा हामीले बृक्षरोपण गरेका छौं । बृक्षरोपण आफैमा गलत हैन तर, हाम्रो प्रजाति छनौट हचुवा छ,प्रकृतिसम्मत छैन ।मसला, टिक, चेक्रासी, मलेसियन सालजस्ता वाह्य प्रजाति हाम्रो रोजाइमा परे, ती प्रजातिहरु न त हाम्रा स्थानीय हुन्, न हात्तीका आहारा नै हुन् ।यिनको बृक्षरोपण भएको ठाउँमा स्थानीय प्रजातिको पुनरुत्पादन नगन्य देखिन्छ ।
जलथल वनको एउटा खण्ड त निजी क्षेत्रलाई रबर खेती नै गर्न उपलब्ध गराइएको छ, जुन हात्तीको मार्ग र बासस्थान दुवै हो । यस्तै रबर खेती झापाका अन्य सामुदायिक वनमा पनि देख्न सकिन्छ ।
जलथल जंगलको अवस्था नजिकबाट हेरौ है त ।यो वनको एकतिहाई माइकेनिया जस्तो मिचाहा प्रजातिको अतिक्रमणमा परेको छ ।यो मिचाहा प्रजातिले हात्तीको आहारा मात्र घटाएको छैन, वनभित्रै हात्तीको स्वतन्त्र विचरणमा समेत व्यवधान खडा गरेको छ ।यसको नियन्त्रणमा सरोकारवालाको गम्भिरता बोलीमा मात्र सीमित छ, यसको नियन्त्रणमा सफल अभ्यासलाई विस्तार गर्न सकिएको छैन।
एकातर्फ माइकेनियाले बिगारेको वनलाई अर्को तर्फबाट साल लक्षित व्यस्थापनले बिगार्दै लगेको छ । जैविक विविधतामा धनी वनलाई व्यवस्थापनले एकात्मकता बढाउँदै लागेको छ । यसबाहेक हात्तीको घाँसको लागि महत्वपूर्ण हुने सिरु कांस हुने क्षेत्रमा उल्टाकाँडा झारको प्रकोप बढ्ने सम्भावना छ ।
वन क्षेत्रभित्र पुनरुत्पादन राम्रो छैन । लटहरका पुराना रुख प्रसस्तै भएको जलथल जंगलमा लटहरका लाथ्रा भेट्नै मुस्किल छ । यसले जंगलभित्रै हात्तीको आहारा कम छ भन्ने बुझाउँछ ।त्यसैगरी सिमसारहरु पनि बिग्रदै छन्, पर्यटन विकासको नाममा भएका सिमसार बढोत्तरी गर्ने कार्य वन्यजन्तुमैत्री छैनन् ।
व्यक्तिगत, समुदाय र राज्य स्तरबाट यो द्वन्द्व न्यूनीकरण गर्न विभिन्न प्रयासहरु गरिएको छ ।विभिन्न प्रकृतिका तारबार लगाउने,ड्रोन प्रयोग गरेर धपाउने,बिजुलीको करेन्ट प्रवाह गर्ने, आहारा प्रजातिको वृक्षरोपणलगायत वैकल्पिक खेतीको प्रयास समेत गरिएको छ ।अहिले भएका अधिकांश प्रयासहरु तत्कालीन समाधानको दृष्टिकोणले बनेका छन् र यिनले एक ठाउँको समस्या अर्कोतर्फ सार्ने मात्र काम गरेका छन् । दीर्घकालीन समाधानको लागि योजनाबद्ध प्रयासहरु आजको आवश्यकता हुन् ।
हामीले नागरिकको जीउधन जोगाउन जति आवश्यक छ,त्यत्तिकै आवश्यक छ हात्तीको संरक्षण पनि ।जमिनको सबैभन्दा ठुलो प्राणीको अस्तित्व संकटमा छ ।वासस्थान विनाश र खण्डिकरण, चोरी शिकारी, मानिसले गर्ने प्रतिक्रियात्मक कार्यको कारणले गर्दा यो भीमकाय जीव संकटमा परेको कुरामा कुनै शंका छैन ।जलवायु परिवर्तन र जैविक विविधता विनाशको पृष्ठभूमिमा हात्ती जोगाउने कुरा झनै चुनौतीपूर्ण छ ।
मानव जीउधनको सुरक्षा र हात्तीको संरक्षण संग–संगै गर्न सबै सरोकारवाला गम्भीर बन्नुपर्ने देखिन्छ ।अबको मानव– हात्ती द्वन्द्व न्यूनीकरण र सह–अस्तिवको वातावरण निर्माणमा कुनै एउटा क्षेत्रको काम मात्र पर्याप्त हुँदैन, यसको लागि बहुपक्षीय र एकीकृत रणनीतिहरु आवश्यक पर्छन् ।
हामीले हात्तीको पुरानो विचरण र अरण्य भूमि फर्काउन त सक्दैनौ । हामीसंग वन बढाउने सम्भावना निकै कम छ तर, विद्यमान वन क्षेत्रमा सुधार गर्ने प्रशस्तै ठाउँहरु छन् । नेपालको विभिन्न क्षेत्रहरुमा वनको अवस्था सुधार गर्न र वन अतिक्रमण रोक्नका लागि वाह्य प्रजातिको बृक्षरोपण भएका छन् । जसमध्ये झापाको रतुवामाई बृक्षरोपण क्षेत्र हात्तीको प्राकृतिक विचरण क्षेत्रमा पर्दछ ।विगतमा भएका गलत बृक्षरोपण क्षेत्रमा प्राकृतिक वन पुनःस्थापनाको आरम्भ यो कार्यको सुरुवात बिन्दु हुन सक्छ ।
रतुवामाई बृक्षरोपण क्षेत्रमा भएका मसला लगायतका बाह्य प्रजातिहरु हटाई प्राकृतिक वन पुनःस्थापना कार्यको सुरुवातले पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको दशकको सन्दर्भमा नेपाल सरकारको संरक्षणप्रति प्रतिवद्धता समेत बलियो बनाउँछ ।वाह्य प्रजातिको बृक्षरोपण हटाई प्राकृतिक वन पुनःस्थापनाले आहाराको उपलब्धतासंगै बासस्थान समेत सुधार गर्दछ ।
त्यसैगरी तराई क्षेत्रमा खण्डिकृत वनलाई जोड्ने, मिचाहा प्रजाति नियन्त्रण गरी स्थानीय वनको पुनःस्थापना गर्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ ।अहिले अपनाईएका वैकल्पिक खेती तथा तारबार जस्ता कार्यहरुलाई पनि व्यवस्थित र एकीकृत गर्दै जानु पर्दछ ।
नेपालको संरक्षित क्षेत्रमा केन्द्रित रहेको वन्यजन्तु संरक्षणको दायरालाई फराकिलो पार्न आवश्वक छ । संरक्षण क्षेत्र बाहिर रहेका हात्तीका लागि महत्वपूर्ण क्षेत्रहरुमा हात्तीको वासस्थान व्यवस्थापन गरी स्थानीयहरुलाई अपनत्व प्रत्याभूति दिलाउने कार्यले मानव–हात्ती सहअस्तित्वमा सकारात्मक योगदान गर्न सक्छ । साथै,हात्ती विचरणको कुनै राजनैतिक सीमा निर्धारण नहुने हुँदा अन्तरसीमा सहकार्यसहितको संरक्षण र हरित कुटनीतिलाई बलियो बनाउँदै मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा छिमेकी राष्ट्र भारतको समेत साथ र सहयोग लिन सक्नु पर्दछ ।हात्तीको आवागमनको सूचना आदान–प्रदानदेखि, समस्याग्रस्त हात्तीको पहिचान तथा नियन्त्रणमा प्रविधि र संरक्षणको लागि आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग लिन सकिन्छ ।त्यसैगरी हात्तीको मानव बस्तीमा प्रवेश घटाउन जैविक मार्गमा सघन व्यवस्थापन गरिनु पर्दछ ।हरित क्षेत्र र वन्यजन्तुमैत्री सिमसार व्यवस्थापन र सुधार पनि उत्तिकै जरुरी छ ।
नेपाल सरकारले व्यवस्था गरेको हात्तीबाट हुने क्षतिको राहत सुस्त मात्र हैन, क्षतिको तुलनामा कम हुँदा पनि द्वन्द्व बढेको छ ।क्षतिको मूल्यांकनको आधारमा दु्रत र सजिलो रुपमा राहत उपलब्ध गराउन सकियो भने पनि हात्तीलाई उत्तेजित बनाउने व्यवहारमा केहि कमि ल्याउन सकिन्छ।
( फरेष्टएक्सन नेपालमा आवद्ध लेखकद्वय बिगत पाँच वर्षदेखि हात्ती प्रभावित जलथल क्षेत्रमा कार्यरत छन्। –कान्तिपुरबाट साभार)