बिर्तामोड, पुष १७ । झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहानै बिर्तामोड–५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बस स्टेन्डसम्म पुगेको थियो । कलेजको पोशाकमा रहेका आठ जना युवाहरुबीच सुरुमा कनकाई कलेज उत्तर देवी माविको छेउमा झगडा परेको थियो । देवी माविका शिक्षकहरुले गाली गरेपछि उनीहरुको झगडा त्यहाँ साम्य भएको थियो ।

उनीहरुको झगडा पछि भद्रपुर बस स्टेन्डसम्म पुगेको थियो । सुरुमा इँटा प्रहारबाट सुरु भएको ग्याङ फाइटमा खुकुरी प्रयोग भएको सूचनालगत्तै पुगेको प्रहरीले घटनास्थलबाट युवाहरुलाई नियन्त्रणमा लिएको हो । घटनास्थलबाट चारजना युवाहरुलाई खुकुरीसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पक्राउ पर्नेहरुमा भद्रपुर २ का १९ वर्षीय आदित्य राई , भद्रपुर १ बस्ने २६ वर्षीय संजोक लिम्बू , सोही ठाउँका १८ वर्षीय दिपेश पुन मगर र २२ वर्षीय रोहन लिम्बू रहेका छन् । घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक रमेश राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्