बिर्तामोड, पुष १७ ।बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीहरु बढ्दै गएका छन् ।


निर्वाचन मिति नजिकिदै गइरहेको बेला अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीको स्वतन्त्र व्यवसायीहरुको प्यानलबाट युवराज निरौला र गोमा भट्टराई पनि उम्मेदवार बन्ने चर्चा छ । कुन पदमा उठ्ने भन्ने हालसम्म टुंगो नलागेपनि दुवैजना निर्वाचनको तयारीमा जुटेको जनाईएको छ ।

न्यु मोबाइल एशोसोरिजका संचालक युवराज निरौला बिगत १६ वर्षदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् ।
सामाजिक क्षेत्रमा समेत सक्रिय निरौला नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड, मोवाइल एशोसिएसन बिर्तामोडको अध्यक्ष, शिक्षा सहकारीको लेखा संयोजक हुन् ।

निरौलाले बिर्तामोड उद्योग वाणिज्य संघ व्यवसायिक संस्था भएपनि हालसम्म व्यवसायीमैत्री हुन नसकेको बताए । बजारलाई व्यवस्थित र थप चलायमान बनाउन आफ्नो उम्मेदवारी आवश्यकता रहेको भन्दै यस पटक आफू उम्मेदवार बन्ने बताए । आकांक्षी निरौलाले कुन पदमा उम्मेदवारी रहने भन्ने कुरा टुंगो लाग्न बाँकी रहेको बताए ।

व्यवसायी गोमा भट्टराईले पनि आफू वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवार बन्ने बताइन् । भट्टराईले आफू के पदमा उठ्ने भन्ने कुरा टुंगो नलागेपनि चुनावको तयारीमा लागेको जानकारी दिएकी छन् ।
उद्योग वाणिज्य संघ बिर्तामोड व्यवसायीका समस्याभन्दा पनि स्वागत र विदाईका काममा मात्रै लागेको भट्टराईको गुनासो छ ।

लामो समयदेखि प्रगति पुस्तक भण्डार संचालन गर्दै आएकी भट्टराई सामाजिक कार्यमा पनि परिचित छन् । भट्टराई महिला उद्यमी संघ झापाको संस्थापक अध्यक्ष, वीरता लेडी जेसीजको महासचिव हुँदै हाल नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको उपाध्यक्ष, तारा नमस्ते बालग्रामकी कोषाध्यक्ष पदमा रहेकी छन् ।

चर्चामा रहेका यी दुवै नाम अर्जुनकुमार मैनालीको स्वतन्त्र व्यावसायिक प्यानलका उम्मेदवार हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको निर्बाचन फागुन १४ का लागि तय गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्