झापा,पुष २१ । विशेष गरेर भारत, श्रीलङ्का, बङ्गलादेश र पश्चिमी म्यानमारमा पाइने सबैभन्दा सानो चरा झापाको मेचीनगरमा फेला परेको छ। चरासम्बन्धी खोज गर्दै आएका वन्यजन्तु फोटो ग्राफर देवेन्द्र खरेलका अनुसार पहिलो पटक यहाँ सबैभन्दा सानो चरा फेला परेको हो।

यो चरा जम्मा ८ सेन्टिमिटरको मात्र छ। यसले विशेष गरेर जामुन लगायत फूलहरुको रस मन पराउँछ। यसको अङ्ग्रेजी नाम ‘प्याले–बिल्ड फ्लावरपेकर’ हो। यसको नेपाली नाम ‘रातोठुँडे पुष्पकोकिल’ भएको खरेलले जानकारी दिए । यहाँ मैले पहिलो पटक देखेको हो र यो सबैभन्दा सानो चरा हो’, उनले भने।

यो चरा विशेष गरेर सहरी क्षेत्रमा बस्न रुचाउने बताइएको छ। चरा सादा खैरोदेखि जैतून हरियो हुन्छ। चरासम्बन्धी अध्ययन गर्दै आएका खरेलका अनुसार संरक्षित क्षेत्र बाहेक सबैभन्दा बढी चरा मेचीनगरमा रहेको उनको दाबी छ। मेचीनगर चराको हब हो भन्ने प्रमाणित हुँदैछ, उनले जनाए ।

मेचीनगर नगरपालिकामा मात्र ३३० प्रजातीका चरा आफूहरुले पत्ता लगाएको खरेलले बताएका छन्। तीन सय प्रजातिको चराको फोटो आफैँ खिचेको उनको दाबी छ। संरक्षित क्षेत्र बाहेक हेर्ने हो भने सम्भवतः नेपालको मेचीनगरमा नै सबैभन्दा बढी चरा पाइने भएकाले यहाँ चरा पर्यटनको सम्भावना प्रबल रहने बताइन्छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्