बिर्तामोड, पुष २१ । झापाको बिर्तामोड २ स्थित चारपाने चोकमा आज साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।अन्य दुईजना गंभीर घाइते भएका छन् ।

साँझ ६ बजे इलामबाट पिकनिक गएर फर्कदै गरेको धरान– विराटनगर चल्ने नागरिक यातायातको प्र–०२–००२ख–०१४९ नं को बससंग मे ५ प ७२४८ नम्बरको मोटरसाइकल जुधेको थियो । पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीनजना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो । दुर्घटनामा परी कन्काई ८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।

उप्रेतीले चलाएको मोटरसाइकलमा ३ जना सवार रहेका थिए । मोटरसाइकलमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी कन्काई ५ का ५९ वर्षीय रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते भएका हुन् । माझीको बिर्तासिटी र सिटौलाको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्