झापा, पुष २३ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ७ जनामा ओमिक्रोनको सवभेरियन्ट जेएन.१ पुष्टि भएको जानकारी दिएको छ।

देशका विभिन्न भागबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा पीसीआरको जिनोम सेक्विन्सिङ गर्दा ७ जनामा उक्त भेरियन्ट पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। उनका अनुसार ती नमूनाहरू आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।

मन्त्रालयले कोभिड–१९ को सब–भेरियन्टको बढ्दो संक्रमणलाई ध्यान दिँदै सीमा नाकाका हेल्थ डेस्कहरूलाई आवश्यक स्क्रिनिङ गराउन अनुरोधसमेत गरेको छ । त्यस्तै स्वास्थ्य कार्यालयहरूलाई पनि मन्त्रालयले आवश्यक स्क्रिनिङ र निगरानीका साथै स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध गरेको छ ।
संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि आम सर्वसाधारणलाई पनि जनस्वास्थ्यका मापदण्ड (भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) अनिवार्य रूपमा पालना गर्न÷गराउन मन्त्रालयले अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को नयाँ भेरियन्ट जेएन.१ तथा इन्फ्लुएन्जाको संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ । डब्लूएचओले कोरोना संकटकाल अन्त्य भएको घोषणा गरे पनि जोखिम भने रहिरहेको जनाएको र कोरोनाको निरन्तरतालाई ध्यान दिएर सरकार जहिले पनि यस विषयमा गम्भीर हुनुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘अहिले रुघाखोकी र ज्वरोको सिजन छ । बेलैमा परीक्षण गर्न पाएमा रोग पत्ता लगाई समाजमा फैलिन सक्ने खतराबाट बचाउन र रोग निदान गर्न सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्