झापा,पुष २४ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिद लगायतका विषयमा अनियमितामा संलग्न भएको आरोप लागेपश्चात उनले आज राजीनामा दिएका हुन्।

खनालको कार्यशैलीलाई लिएर पछिल्लो समय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा असन्तुष्ट थिइन्। उनीमाथि अनियमितताको आरोप लागेपछि मन्त्री शर्माले केही समय अगाडि स्पष्टीकरण सोधेकी थिइन्। मन्त्री शर्माले मन्त्रिपरिषद्को बैठकमा बर्खास्त गर्ने तयारी गरेपछि खनालले राजीनामा दिएका हुन्।

खनाललाई प्रधानमन्त्री कार्यालयले सोमबार छलफलमा बोलाएको थियो। छलफलमा प्रधानमन्त्री कार्यालयका सचिवले समेत उनको कार्यशैलीप्रति आपत्ति जनाएका थिए।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा प्रभावकारी काम गर्न नसकेको, स्मार्ट सेलको खारेजी र एनसेलको सेयर खरिद बिक्री, इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएपछि सरकार असन्तुष्ट बनेको थियो।

सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रियाको छानबीन गर्न निर्देशन दिइसकेको छ। सञ्चार मन्त्रालय, अख्तियार र संसदीय समितिले यस विषयमा छानबिन गरिरहेका छन्। खनाल २०७६ सालको साउनमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्