बिर्तामोड, पुष २४ । सांगीतिक र खेलकुद कार्यक्रमका साथ विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै बिर्तामोड १० सैनिकबजारस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयले ५७ औं वार्षिकोत्सव मनाएको छ ।

सोमवारदेखि विभिन्न खेलकुद प्रतियोगिता संचालन गरेको विद्यालयले मंगलवार समापन कार्यक्रम गरेको हो । समापनका अवसरमा सेवा निवृत्त भएका विद्यालयका निवर्तमान प्रधानाध्यापक प्रेमबहादुर लिम्बू , सरुवा भएर जाने शिक्षिका मीरा घिमिरे , सेवा निवृत्त भएका कार्यालय सहयोगी आइतबहादुर तुम्रुक , विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष स्व. शालिग्राम पाठककी धर्मपत्नी शशिकला पाठक , विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य रिमानध्वज लोक्ताम , विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामदर्शन गुरुङ र उत्कृष्ट शिक्षक महेश्वर कार्कीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , विशिष्ट अतिथिहरु उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला ,शिक्षा शाखाका प्रमुख तिलचन भण्डारी , शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार वि.क.,बिर्तामोड नगरपालिका १० का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्योधन गुरुङ, विद्यालयका प्रधानाध्यापक जयकुमार झाले दोसल्ला , फूलमाला र सम्मानपत्रले उनीहरुलाई सम्मान गरेका थिए ।

बिर्तामोड नगरपालिका १० का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख प्रसाई , उपप्रमुख संग्रौला , शिक्षा शाखा प्रमुख भण्डारी , शिक्षा विकास तथा समन्वय इकाई प्रमुख वि.क., शिक्षक महासंघका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाई , शिक्षक युनियन झापाका संस्थापक अध्यक्ष नारायण गौतम , सम्मानित व्यक्तित्व निवर्तमान प्रअ लिम्बूलगायतले मन्तव्य राखेका थिए ।

त्यस अवसरमा १३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । शान्ति– धन अक्षयकोषबाट ३ हजारका दरले ११ जना र पवित्रा पौडेल स्मृति अक्षयकोषबाट ५ हजार रुपैयाँका दरले २ जनालाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रअ झाले बताए । वार्षिकोत्सवका अवसरमा विद्यालयले खेलकुद प्रतियोगिता संचालन गरेको थियो । दौड , फुटबल , भलिवल , ज्याब्लिङ थ्रो , सर्टपुट लगायतका प्रतियोगिता सम्पन्न गरिएको विद्यालयले जनाएको छ । खेलकुद र सांस्कृतिक कार्यक्रममा धौलागिरी सदन प्रथम भएको छ । विद्यालयका प्रअ झाले प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत सहायक प्रअ भवानी शिवाकोटी तथा संचालन शिक्षकहरु वीरेन्द्र कडरिया र सरस्वती दाहाल खतिवडाले गरेका थिए । त्यस विद्यालयमा ४०५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्