झापा,पुष २५ । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जलपन्छी गणना सुरु भएको छ । ३७ औँ जलपन्छी गणना बुधबारबाट आरक्ष क्षेत्रमा सुरु भएको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पाँचदिने चरा गणना गर्ने कार्यक्रमअनुसार बुधबार बिहान जल चराहरूको गणना चतराबाट सुरु गरिएको छ । गणनामा चराविज्ञ तथा संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले जानकारी दिए ।

संयोजक डा. बरालका अनुसार राष्ट्रव्यापीरुपमा हिमाली प्राकृतिक संस्थाले पानीमा आश्रित रहने चराहरूको गणना सुरु गरेको छ । कोशीटप्पुमा कोशी पन्छी समाजले चराको गणना गर्नेछ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्व र कोशीटप्पु वन्यजन्तु आरक्षको समन्वयमा चरा गणना हुनेछ ।

गणनामा हाँसका प्रजातिहरू, बकुल्लाका प्रजाति, गरुडका प्रजाति, हुटिट्याउँलगायत पानीमा निर्भर रहने जल चराहरूको विज्ञहरूद्वारा गणना गरिने डा.बरालले बताए । पन्छीविद् डा. बरालले भने “गतवर्ष कोशीटप्पु क्षेत्रमा सात हजार छ सयको सङ्ख्यामा जलपन्छी गणना गरिएको थियो ।”

उनका अनुसार चराहरूको सङ्ख्या दशकदेखि यता कोशी टप्पुमा पाइने चराहरू घट्दो क्रममा छन् । जाडो छल्न आउने चराहरूले आरक्ष क्षेत्रमै बच्चा कोरल्ने गरेका थिए । खेतबारीमा हाल्ने विषादीले पाहुना चराहरूको प्रजनन् क्षमता घट्दै गएको छ । किसानहरूले खेतबारीमा हालेको विषका कारण मरेका किरा फट्याङ्ग्रा खाएर चराहरूको प्रजनन क्षमता कमजोर हुँदै गएकाले पाहुना चराहरू घट्दै गएका छन् ।

चराहरूको राजधानीको रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा भएका ठुला सिम क्षेत्र, ताल र साना खोल्साहरू सुक्दै जानुले पनि चराहरूको बास स्थान घट्दै गएको छ । बास स्थान घट्दै गएसँगै जलमा निर्भर चराहरूको सङ्ख्या घट्दै गएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका सूचना अधिकृत विनयकुमार मिश्रले भने “जलवायु परिवर्तनका कारण आगन्तुक पाहुना चराहरूको सङ्ख्या कम हुँदै आएको छ ।” जलवायु परिवर्तनका कारण पछिल्लो समय तापक्रम बढ्नुका साथै हिमक्षेत्रहरु पग्लिँदा पनि चराहरू नआएका कारण कम देखिएको हुनसक्ने उनले बताए ।

कोशी पन्छी समाजले कोशी नदी र आरक्षका सिमक्षेत्रमा चराविज्ञ टोलीले पाँच दिनसम्म गणना गर्ने कोशी समाजका अध्यक्ष चक्र तिम्सिनाले बताए । पन्छी समाजले आरक्ष क्षेत्रको कोशी नदी, कोशीटप्पुको भागलपुर, कोशी ब्यारेक र बर्जुतालमा गणना गरिने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्