झापा,पुष २८ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले प्रदेशमा रहेका प्रहरी चौकी तथा प्रहरी कार्यालयहरूको भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने बताएका छन् । सङ्घीय सरकारले बनाएको अहिलेको मापदण्ड प्रदेशमा आर्थिक बोझिलो भएको जनाउँदै प्रदेश सरकारले नयाँ मापदण्ड बनाउने बताएका हुन् ।

झापाको दमकस्थित निर्माणाधीन ट्राफिक प्रहरी कार्यालयको अवलोकन गर्दै मन्त्री राईले प्रहरीको सङ्ख्या थोरै रहेका प्रहरी कार्यालयहरूको भवनचाहिँ ठुलाठुला बनाउन जरुरी नरहेको जनाए । एउटा प्रहरी चौकी बनाउँदा दुई करोड ८० लाखभन्दा बढीको मापदण्ड रहेको जानकारी दिए ।

नयाँ भवन निर्माणहरू प्रदेश सरकारको प्राथमिकतामा नरहने र अधुरो कामहरूलाई पूरा गर्ने बताएका छन् । नयाँ बनाउनका लागि आवश्यक मापदण्ड बनेपछि मात्र सुरु गरिने उनले जनाए । भवन बनाउँदा एक सयजना क्षमताको बनाउने तर नौ जना प्रहरीको दरबन्दी रहने अवस्था रहेका उनको भनाइ थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्