झापा, पुष २८ । झापामा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

झापाको माइधारमा आज साँझ ६ बजे कार र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ७२१२ न. को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १४ च ६६०३ नं को कार एकापसमा जुधेको बताइएको छ ।नाम, थर र वतन नखुलेका मोटरसाइकल चालकको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै मोटरसाइकलको पछाडि सवार एकजना र कारमा सवार चार जना घाइते भएका छन् । उनीहरुको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी हवल्दार पदम सुवेदीले बताए ।

त्यस्तै आज दिउँसो ३.५० बजे कमल गाउँपालिका ४ चुलाचुली मोडमा दुईवटा मोटरसाइकल र एउटा स्कुटर ठोक्किदा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ६ प ३१५२ नं को मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६प ८९९२ नं को अर्को मोटरसाइकल एकापसमा ठोक्किदा विपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१६प ७१४० नं को स्कुटर पनि ठोक्किएको थियो ।

दुर्घटनामा प्रदेश १–०१–०१६प ८९९२ नं को मोटरसाइकल चालक कन्काई ५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र सोही मोटरसाइकलको पछाडि सवार कन्काई ३ बस्ने ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए । घाइतेमध्ये रघुनाथलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाँदै गर्दा बाटैमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । अन्य मोटरसाइकल र स्कुटरका चालक सामान्य घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्