झापा , पुष २९ । झापाको शिवसताक्षी ६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाबाट एकजना ग्राहकको ३ लाख ४३ हजार नगद गायब भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं ६ बस्ने कृष्णकुमार राजवंशीकी श्रीमती आशाकुमारी राजवंशीको खाता नं २१७०१०००००२६३००४ बाट सो रकम गायब गरिएको हो । महालक्ष्मी सेभिङ खातामा रकम जम्मा गरिएको थियो । १५ हजार , २० हजारका दरले पटकपटक गरेर आफ्नो श्रीमतीको खाताबाट सो रकम हिनामिना गरिएको राजवंशीले बताए । उनले बैक कर्मचारीकै मिलेमतोमा आफ्नो रकम गायब गरिएको आरोप लगाए । एटीएम कार्डबाट सो रकम निकालेको देखिएको छ । जबकि राजवंशीले एटीएम कार्ड बनाएका थिएनन् । राजवंशीको बैक खाताबाट हराएको रकमका बारेमा गैरजिम्मेवार जवाफ दिएको बैकले बैक इस्टेटमेन्ट दिन समेत नमानेको स्थानीय चन्द्रमणि पौडेलले बताए । उनले स्थानीयहरुले दबाब दिएपछि मात्र बैक इस्टेटमेन्ट दिएको जानकारी दिए ।

अर्को कुनै व्यक्तिले राजवंशीको खाताबाट सो रकम निकालेको भन्दै बैकले १ लाख ३ हजार , १ लाख ४० हजार र १ लाख गरी सो रकम राजवंशीको खातामा जम्मा गरेको पौडेलले बताए । आफ्नो खाताबाट भएको रकम हिनामिनाको छानविन गरी दोषीलाई कार्वाही गर्न राजवंशीले आज इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिएका छन् । उनले प्रहरीसंगै राष्ट्रिय विाणिज्य बैकको केन्द्रीय कार्यालयमा समेत आजै उजुरी पठाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्