बुधबारे, पुष २९ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाले प्रथम झापा जिल्ला अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

आइतबार प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आगामी फागुन २ देखि १२ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताएका छन् । झापा जिल्लाका पन्ध्रवटै पालिकाको सहभागी हुने प्रतियोगितामा बिजेताले नगद १ लाख रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छ भने उपबिजेताले नगद ५० हजार र मेडल, ट्रफी, प्रमाणपत्र पाउने बताइएको छ । खेल टी–२० को नियम अनुसार हुनेछ । अध्यक्ष प्रसाईंका अनुसार प्रत्येक टीममा १५ जना खेलाडीहरु हुनेछन् । जसमा ११ जना मुख्य खेलाडी र ४ जना बैकल्पिक रहने छन् । खेलमा म्यान अफ दी म्याचलाई २ हजार, फाइनलको म्यान अफ दी म्याचलाई ५ हजार र म्यान अफ दी सिरिजलाई १० हजार पुरस्कार दिइने छ ।

सो अवसरमा खेलतालिका चिठ्ठामार्फत सार्वजनिक गरिएको छ । पोल (ए) र पोल (बी) गरी खेलतालिका सार्वजनिक गरिएको हो । पहिलो खेल कनकाई नगरपालिका र बाह्रदशी गाउँपालिकाबिच हुनेछ । दोस्रो खेल हल्दिवारी र गौरीगञ्ज गाउँपालिका, तेस्रो खेल बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिका, चौंथो खेल झापा गाउँपालिका र गौरादह नगरपालिका, पाँचौ खेल शिवसताक्षी नगरपालिका र कमल गाउँपालिका, छैठौँ खेल भद्रपुर र दमक नगरपालिका, सातौँ खेल अर्जुनधारा नगरपालिका र कचनकवल गाउँपालिकाबिच हुने बताइएको छ । बिर्तामोड नगरपालिका भने बाईमा परेको छ । खेल बुद्धशान्ति २ स्थित पेट्रोल पम्प छेउको खुला मैदानमा हुनेछ ।

प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंको अध्यक्षता , झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाको प्रमुख आतिथ्यता, क्रिकेट संघ कोशी प्रदेशका सदस्य नारद नेपाल र झापा जिल्ला क्रिकेट संघका कोषाध्यक्ष तुलानाथ दाहालको बिशेष आतिथ्यतामा खेलतालिका सार्वजनिक गरिएको थियो । खेलतालिका सार्वजनिक कार्यक्रमको सहजीकरण गोकुल पौडेलले गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव मदन मगरले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्