झापा, माघ २ ।नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट बोलेरो गाडी त्रिशुली नदीमा खसेको छ।

आज बिहान करिब ४ः५० बजेतिर गाडी नदीमा खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पानी भित्र गएर खोजी गर्दा बोलेरो गाडी भेटिएको हो। गोताखोरको टोलीले गाडीमा कुनै पनि मानिस नभेटिएको बताएको छ।

गाडी खसेको सूचनापछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली समेत परिचालन भएको थियो। सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमाण्डमा ७ जना गोताखोरसहित १० जना र नम्बर १७ गण चितवनबाट इन्स्पेक्टरको कमाण्डमा १३ जना परिचालन भएको थियो।

इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर विशाल तामाङका अनुसार गाडी खसेको ठाउँमा भारतीय नम्बर प्लेट समेत फेला परेको छ। नम्बर प्लेट फेला परेअनुसार नदीमा खसेको गाडी भारतीय हुनसक्ने आकलन गरिएको छ।

पहिलो चरणको खोजीका क्रममा गाडीभित्र मानिस फेला नपरेको देखिए पनि पुनः दोस्रो चरणको खोजी हुने सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्