बिर्तामोड, माघ २ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ गरामनीस्थित बेल्स मोडल स्कुलमा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

स्कुलले आज आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजनको ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । उनलाई उपचारको लागि बीएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको विद्यालयका संस्थापक जय प्रसाईले बताए । विद्यालयको सजावटका लागि भारत सिलिगुडीको पार्टी डेकोरेशन सिलिगुडी भन्ने कम्पनीले ठेक्का लिएको थियो । तिनै कम्पनीले सहनीलाई कामदारको रुपमा खटाएको थियो ।

घाइतेको कम्मर मुनिको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा एक विद्यार्थी सामान्य घाइते भएको जनाइएको छ । उक्त ग्यासको सिलिन्डर पड्किदा निस्किएको आवाजले सोही विद्यालयमा कक्षा ९ मा अध्यनरत बिर्तामोड ७ वस्ने टिका तामाङकी छोरी १५ वर्षीया कुसुम तामाङको कानमा समस्या आई उपचारको लागि बीएण्डसी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।सो घटनापछि विद्यालयले खेलकुदको कार्यक्रम स्थगित गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्