झापा, माघ २ । झापा गाउँपालिकाको एउटै गाउँका ६ जनालाई दादुराको संक्रमण देखिएको छ ।

झापा गाउँपालिकाको वडा नं ७ को सन्थाल बस्तीका ६ जनालाई दादुरा देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु ४ जना महिला र २ जना पुरुष रहेका छन् । सन्थाल बस्तीका सन्थाल समुदायका दुई जना, थापा थरका तीन जना र बराइली थरका एकजनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै बिर्तामोडका एकजनामा पनि दादुराको संक्रमण देखिएको छ । झापा गाउँपालिकामा ६ जनामा दादुरा आउटब्रेक भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए ।

सन् २०२३ मा झापामा ६ जनालाई दादुरा देखिएको थियो । तर, सन् २०२४ को दुई साताकै अवधिमा ७ जनालाई संक्रमण देखिसकेको स्वास्थ्य प्रमुख बाराकोटीले बताए । झापा गाउँपालिकामा पहिलो संक्रमण पुष १३ गते देखा परेको थियो । शरणामती स्वास्थ्य चौकीमा आएका ती संक्रमितको रगत परीक्षणका लागि ल्याबमा पठाइएको थियो । त्यसको रिपोर्ट पुष २५ गते पोजिटिभ आएपछि झापा गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले पुष २६ गते सो टोलमा खटिएर नमूना संकलन गरेको थियो । त्यसबेला ६ जनाको रगत संकलन गरिएकोमा पाँचजनामा पोजिटिभ देखिएको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमकुमार न्यौपानेले बताए । त्यसको रिपोर्ट शुक्रवार आएको हो ।

यसरी एउटै गाउँका ६ जनामा दादुरा देखिएपछि स्वास्थ्यकर्मीहरुले सक्रिय खोज शुरु गरेका छन् । मंगलवार विश्व स्वास्थ्य संगठनका प्रतिनिधि , स्वास्थ्य कार्यालयको टोली , गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियासहितका जनप्रतिनिधि , विद्यालयका शिक्षकलगायतबीच संक्रमण रोकथामका विषयमा बृहत अन्तरक्रिया गरिएको छ । स्वास्थ्य शाखा प्रमुख न्यौपानेले अन्य संक्रमितको खोजीका लागि कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको बताए । उनले रेपिड रेस्पोन्स टीम परिचालन गरिने , घरधुरी सर्वेक्षण गरिने , सम्बन्धित व्यक्तिहरुलाई अभिमुखीकरण गरिने जानकारी दिए । संक्रमितहरुलाई भिटामिन ‘ए’ को उपचार गरिएको उनले बताए । अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य संगठनकी संगीता शाह , स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी , गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया , सुन्सरीका कन्हैया शाह, वडा नं ५ र ७ का वडाध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख प्रेमकुमार न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्